न्यूज टुडे
कञ्चनरूप, २० साउन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. राम पवित्र दास र सवारी चालक भोगेन्द्र यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुस लिएको आरोपमा पक्राउ परेका उनीहरू विरुद्ध विशेष अदालत काठमाडौंमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार डा. दास र यादवले भ्याक्सिनेटरहरूले खोप कार्यक्रम सम्पन्न गरेबापत पाउनुपर्ने पारिश्रमिक भुक्तानी गराइदिने नाममा २० प्रतिशत रकम कमिसनस्वरूप घुस माग्ने गरेको उजुरी प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा कार्यालय प्रमुख डा. दासले सवारी चालक यादवसँग मिलेमतो गरी भ्याक्सिनेटरहरूलाई भुक्तानी लिन बाध्य बनाउँदै कम्तीमा २० प्रतिशत रकम घुस दिनुपर्ने अवस्था सिर्जना गरेको पुष्टि भएको अख्तियारले जनाएको छ। सो क्रममा उनीहरूले रु. १ लाख ३२ हजार ३ सय ५० घुस लिएको प्रमाण फेला परेपछि रकमसहित नियन्त्रणमा लिइएको थियो।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(ग) बमोजिमको कसुर भएको ठहर गर्दै दुवै जनाविरुद्ध रु. १ लाख ३२ हजार ३ सय ५० बिगो कायम गरी सोही बराबर जरिवाना र कैद सजायको मागदाबी सहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियरले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन्।