उत्तम आचार्य
कञ्चनरूप, २० साउन ।
सप्तरीको कञ्चनरूप नगरपालिकासहित जिल्लामा खाना पकाउने ग्यासको चरम अभाव हुन थालेको छ । कप्तानगञ्ज गोलीकाण्ड पछि हप्तौंस्स्म्म भएको आमहड्तालको प्रभावले खाना पकाउने ग्यासको अभाव सिर्जना भएको हो ।
सदरमुकाम राजविराजसहितको स्थानमा खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। ग्यास पाउन कठिन भएपछि स्थानीय उपभोक्ताहरू निकै मारमा परेका छन्।
बुधबार बिहानैदेखि रूपनगर चोकमा ग्यास सिलिन्डर लिनका लागि सर्वसाधारणको लामो लाइन लागेको छ। दैनिक भान्सा चलाउनै धौ-धौ भएपछि उपभोक्ताहरू एकाबिहानैदेखि रित्तो सिलिन्डर बोकेर लाइनमा बस्न बाध्य भएका हुन्।
स्थानीय उपभोक्ताहरूका अनुसार बजारमा लामो समयदेखि माग अनुसारको ग्यास आपूर्ति हुन सकेको छैन। “बिहान उज्यालो नहुँदै लाइनमा बस्न आएका हौं, तर ग्यास पाइने हो कि होइन अझै निश्चित छैन,” एक स्थानीयले गुनासो गरे।
चाडपर्व तथा आपूर्ति व्यवस्थामा देखिएको अवरोधका कारण बजारमा ग्यासको अभाव चर्किएको व्यवसायीहरू बताउँछन्। यता सर्वसाधारणले भने आपूर्ति प्रणालीलाई सहज बनाउन स्थानीय प्रशासन तथा सरोकारवाला निकायसँग जोडदार माग गरेका छन्।