न्यूज टुडे
राजविराज,१८ साउन ।
सप्तरी सदरमुकाम राजविराज र बोदेबर्साइनमा लगाइएको अनिश्चितकालीन कर्फ्यु र निषेधाज्ञा पूर्ण रुपले हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा सोमबार एक सूचना जारी गर्दै विहान १० बजे देखि पूर्ण रुपमा कर्फ्यु तथा निषेधाज्ञा हटाइएको जनाएको हो ।
जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन वा हुलदंगा भई शान्ति सुरक्षा भंग हुन जाने देखिएपछि जारी कर्फ्यु तथा निषेधाज्ञा पूर्ण रुपले हटाइएको प्रजिअ श्याम कृष्ण थापाले बताए ।
नागरिकको अत्यावश्यक कामकाज तथा दैनिकीमा परेको असुविधालाई मध्यनजर गरि जारी कर्फ्यु र निषेधाज्ञा सोमबार विहान १० बजेदेखि लागू हुने गरी पूर्ण रुपले हटाइएको प्रमुख जिल्ला अधिकारी थापाद्वारा जारी सूचनामा उल्लेख छ ।
यसैगरी जिल्लामा शान्ति सुरक्षा कायम गर्न सबैपक्षको सहयोग प्राप्त भएको भन्दै धन्यवाद व्यक्त गरिएको छ । जिल्ला प्रशासन कार्यालयद्वारा धन्यवादसहितको जारी सूचनामा सबै क्षेत्रको परस्पर सहयोगले मात्र जिल्लामा शान्ति सुरक्षा कायम गर्न सम्भव भएको उल्लेख गरिएको छ । प्रजिअ थापाले जारी गरेको धन्यवाद पत्रमा यस्ता साथ सहयोग आगामी दिनमा पनि निरन्तर पाउने अपेक्षा समेत गरिएको छ ।
सुनसरी र सिरहा गोलीकाण्डपछि सप्तरीमा समेत आन्दोलन उग्र बनेपछि गत शुक्रबार विहान ८ बजेदेखि लागू हुने गरी राजविराज भित्रका पूर्व खाडो खोला,पश्चिम हुलाकी राजमार्गको जमुनी थलही,उत्तर रुपनी रोडको बसविट्टी चौक र दक्षिण कोशी पश्चिम मुल नहर विष्णुपुर गाउँपालिकासम्म तथा बोदेबर्साइन नगरपालिकाको चौहदी भित्र लागू हुने गरि अनिश्चितकालीन कर्फ्यु आदेश गरिएको थियो ।
जिल्ला सुरक्षा समिति सप्तरीले जिल्लाको शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासन ऎन २०२८ को दफा ६ (क) बमोजिम शुक्रबार ८ बजे देखि आर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारीका थिए ।
सुनसरीको कप्तानगञ्जमा हिन्दु र मुश्चिम समुदाय वीच भएको दंगा नियन्त्रणका क्रममा देवानगञ्जका ओम प्रकाश मेहता, जय प्रकाश मेहता र सोही घटनाको विरुद्ध प्रदर्शनको क्रममा बल प्रयोग हुँदा सिरहाको गोल बजारमा बिहिवार गणेश यादवको मृत्यु भएपछि थप सुरक्षा सम्वेदनशेलता बढेको छ ।
यस घटनामा मृत्यु हुनेको संख्या ३ पुग्र्को छ भने एक दर्जन प्रदर्शनकारी गोली लागेर घाइते भएका छन् । साथै प्रदर्शनको क्रममा विभिन्न निजी घर तथा व्यवसायीक महलहरुमा आगजनी हुँदा अर्बौको सम्पत्ति क्षति भएको छ । प्रदर्शनको क्रममा झडप हुँदा केही प्रहरी समेत घाइते भएको प्रहरीले जनाएको छ ।
लामो समय यातायात तथा बजार बन्द हुँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको थियो । कर्फ्यु तथा निषेधाज्ञा आदेश हटेपछि जनजीवन सहज बनेको छ ।
खाना पकाउने ग्यास,इन्धनसहितका दैनिक उपभोग्य बस्तुको अभाव अझै कायम नै हुँदा अझैपनि उनीहरु सास्ती खेप्न बाध्य भएका छन् ।