नर्मदेव यादव
रुपनी,१७ साउन ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का साँसद अमरकान्त चौधरीले सबै जातजाति, धर्म समुदायको आपसी मेलमिलापको भावनाको विकासले सबैको भलो हुने भएकोले एक आपसमा भाइचाराको सम्बन्ध बनाउनु पर्नेमा जोड दिएका छन् । सुनसरी र सिरहाको घटनामा निधन भएका युवाहरूको स्मृतिमा सप्तरीको रुपनीमा आइतबार आयोजित शोक श्रद्धाञ्जली एवम् सद्भाव र्यालीलाई सम्बोधन गर्दै उनले सामाजिक तथा धार्मिक एकतामा जोड दिएका हुन् ।
रुपनी गाउँपालिकाद्वारा आयोजित सद्भाव र्यालीलाई सम्बोधन गर्दै साँसद चौधरीले सुनसरी र सिरहामा भएको घटना प्रति गहिरो दुख व्यक्त गरे । दुबै घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउँदै उनले आपसी द्वन्दले कसैको कल्याण नगर्ने भन्दै सम्बन्धित पक्षहरुलाई संयमित हुन आग्रह गरे ।
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव नेतृत्वमा ‘वीर सहिद- अमर रहे, हत्या हिंसा- बन्द गर, मानव सभ्यता – कायम गर,दोषीलाई- कारबाही गर, द्वन्द फैलाउने- कारबाही गर, जातीय विभेद – अन्त्य गर, सामाजिक परस्पर- कायम गर,धार्मिक विभेद-अन्त्य गर, सम्पूर्ण मानव – एक हऔं’ लगायतका चर्को नारा लगाउँदै निकालिएको सद्भाव र्याली रुपनी बजार परिक्रमा पछि कोणसभा आयोजना गरिएको थियो ।
कोणसभामा सम्बोधन गर्दै बक्ताहरुले मधेसीमाथी छातीमा ताकीताकी गोली किन हानियो त्यसको जवाफ सरकारले दिनुपर्ने बताए । सरकारले दमनको नीति लिएर मधेस युवामाथि गोली बर्साउने विगतको सरकार र बर्तमन सरकारमा केही फरक नपाएको भन्दै उनीहरुले आक्रोश पोखे ।
कोणसभालाई राम कुमार यादव,मो. तवरेज,मलवी,श्यामसुन्दर महासेठ,पितम्वर यादव, सरोज कुमार मण्डल,दिलिप कुमार मण्डल,धनाई मण्डल लगायतले सम्बोधन गरे ।
कार्यक्रम संचालन स्थानीय उपेन्द्र प्रसाद चौधरीले गरेका थिए ।