न्यूज टुडे
राजविराज,१७ साउन ।
कप्तानगञ्ज गोलीकाण्डसहित सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएकाहरूको स्मृतिमा राजविराजमा आइतबार बृहत शोक र्याली निकालिएको छ । हिन्दु सनातनी समाज सप्तरीद्वारा शोक र्याली निकालिएको हो ।
स्थानीय शिव मन्दिरबाट मृतकहरुको तस्वीरसहितको व्यानर प्रदर्शन गरि निकालिएको शोक र्याली विभिन्न चर्को नारा लगाउँदै नगर परिक्रमा गरेको थियो ।
‘वीर सहिद अमर रहुन, हिन्दु हेप्न पाइदैन, जय श्रीराम, सद्भाव र्याली बहिष्कार गरौं, मुश्लिम आयोग खारेज गरौं, हिन्दु राष्ट्र घोषणा गर’ लगायतका नारा लगाउँदै कडा सुरक्षा घेराभित्र शोक र्याली निकालेको थियो ।
र्यालीमा सनातन संस्कृति नेपाल सप्तरी,हिन्दु सम्राट नेपाल सप्तरी,राष्ट्रिय बजरंगदल सप्तरी, इस्कोन राजविराज सप्तरी,श्रीकृष्ण भक्त मण्डल सप्तरी, हिन्दु समाज सप्तरीका प्रतिनिधि, युवा, विद्यार्थी, व्यापारी, किसान, मजदुर यातायात व्यवसायी लगायतको सहभागिता रहेको हिन्दु सम्राट सेना नेपाल सप्तरीका संयोजक सुरेन्द्र दासले जानकारी दिए ।
र्यालीलाई तीन तहको सुरक्षाकर्मीहरुले कडा सुरक्षा दिइएको थियो ।
सुनसरीको देवानगञ्ज ३ स्थित कप्तानगञ्जमा हिन्दु र मुश्लिम समुदाय वीच धार्मिक द्वन्द भड्किदा गोली लागेर स्थानीय ओमप्रकाश मेहता, जयप्रकाश मेहता र सिरहा गोलबजारका गणेश यादवको मृत्यु भएको थियो । प्रदर्शनको क्रममा दर्जनौं व्यक्ति गोली लागेर घाइते भएका छन् भने अर्बौंको भौतिक संरचना ध्वस्त भएको छ ।
सोही विषयलाई लिएर सप्तरीमा विभिन्न हिन्दुवादी संघसंस्थाद्वारा उग्र प्रदर्शन गर्नथालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
विरोधका कारण पूर्वपश्चिम राजमार्ग एकहप्तादेखि ठप्प रहेको छ भने त्यसको प्रभावले खाना पकाउने ग्यास र इन्धनको चरम अभावले सर्वसाधारण सास्ती खेप्न बाध्य छन् ।
जिल्लाको राजविराज नगरपालिका र बोदेबर्साइन नगरपालिकामा स्थानीय प्रशासनले लगाएको कर्फ्यु अहिले पनि आदेश जारी छ ।