न्यूज टुडे
राजविराज, १७ साउन ।
शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सप्तरीद्वारा राजविराजमा आइतबार ‘सद्भाव र्याली’ निकालेको छ। स्थानीय शिव मन्दिरको प्राङ्गणबाट निकालिएको सद्भाव र्यालीले नगरको विभिन्न भाग परिक्रमा गरेको हो ।
जिल्लामा शान्ति र सद्भाव कायम गर्न सम्पूर्ण नागरिक, राजनीतिक दल र समुदाय र्यालीमा सहभागी रहेको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले जानकारी दिए ।
सुनसरी र सिरहा जिल्लामा हालै भएका घटनापछि सप्तरीमा विकसित परिस्थितिलाई सामान्य बनाउन र सामाजिक सद्भाव कायम राख्न र्याली निकालिएको उनले बताए । र्यालीमा जातजाति, धर्म र संस्कृतिभन्दा माथि उठेर सबै क्षेत्रका व्यक्तिहरुले सहभागीता जनाएको भन्दै खुशी व्यक्त गरे ।
सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनामा परी गोली लागेर ज्यान गुमाएका कप्तानगञ्जका ओमप्रकाश मेहता र जयप्रकाश मेहता तथा सिरहाको औरही गाउँपालिकाका गणेश यादवको स्मरण गर्दै र्यालीमा सहभागहरुले उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग माग समेत गरे ।
सद्भाव र्यालीमा जिल्ला बार एसोसिएसन, गैसस महासंघ, नेपाल पत्रकार महासंघ, निर्माण व्यवसायी संघ, शिक्षक महासंघ, उद्योग वाणिज्य संघ, नेपाल चिकित्सक संघ, नेपाल प्राध्यापक संघ, महिला मानवअधिकार रक्षक सञ्जाल, नागरिक समाज, इन्सेक र परिकल्पना नेपालका सप्तरी प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका जिल्ला नेतृत्व, विभिन्न धार्मिक समुदायका अगुवाहरुको सहभागीता थियो ।