सर्लाहीको बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह रसायनिक मल किन्न जाँदा भारत सीतामढी जिल्लाको सोनबरसा पक्राउ परे । गाउँमा मल नपाएका कारणले ती दाजुभाइले सोनबरसा पुगेर मल किनेका थिए ।
समस्या बलरा निवासी यी दाजुभाइको मात्र होइन, सरकारले समयमा रसायनिक मल उपलब्ध नगराएका कारण देश भरिकै किसान रोपाइँको बेला मलको अभाव खेप्न बाध्य छन् । भारतीय सीमावर्ती क्षेत्र नजिकका किसानले स्वदेशमा मल नपाएपछि भारतीय बजारमा किन्न जानु उनीहरुको बाध्यता नै छ । भारतले रसायनिक मलको निर्यातमा कडाई गरेपछि नेपाली किसानले अझै हण्डर खेप्नु परिरहेको छ । हरेक वर्ष जसो धानवाली लगाउने समयमा रसायनिक मलको हाहाकार हुने गरेको छ । सरकारको तथ्याड्ढमा पर्याप्त मल उपलब्ध रहेको भनिए पनि वास्तविक किसानसम्म आवश्यकताको अनुपातमा मल पुग्न सकिरहेको छैन । सरकारले प्रदेशसम्म मल पठाएको भनिए पनि गाउँका सहकारीमा मल उपलब्ध नगरेका कारण पठाएको मल कहाँ पुगेर अड्किएको हो? त्यसको खोजी गर्नुपर्ने भएको छ । एक निकायले अर्कोलाई देखाएर आफू चोखिन चाहने सोच मात्रले समस्याको हल कदापि निस्कन सक्दैन ।
केन्द्रबाट मल पठाईसकेको हो भने किसानसम्म त्यो पुग्यो कि पुगेन भन्ने बारेमा खोजखबर लिने जिम्मेवारी स्थानीय सरकारका रुपमा रहेको पालिकाको पनि हो । पालिकाका जनप्रतिनिधिहरुले गाउँका सहकारीले मलको वितरण कसरी गरिरहेका छन् भन्ने कुराको जानकारी लिएर भएपनि किसान समक्ष मल पुग्ने अवस्था मिलाईनु आवश्यक छ ।