• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पापडले राजविराजमा ‘सद्भाव र्‍याली’ निकालिने : सम्पूर्णलाई सहभागिताको लागि अपिल 

पापडले राजविराजमा ‘सद्भाव र्‍याली’ निकालिने : सम्पूर्णलाई सहभागिताको लागि अपिल 
न्यूज टुडे
राजविराज, १६  साउन ।
शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सप्तरीले राजविराजमा आइतबार ‘सद्भाव र्‍याली’ निकाल्ने निर्णय गरेको छ। नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा शनिबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
र्‍यालीमा जिल्लामा शान्ति र सद्भाव कायम गर्न सम्पूर्ण नागरिक, राजनीतिक दल र समुदायलाई र्‍यालीमा सहभागी हुन  पापडले आह्वान समेत गरेको छ ।
सुनसरी र सिरहा जिल्लामा हालै भएका गोली काण्ड  पछि सप्तरीमा विकसित परिस्थितिलाई सामान्य बनाउन र सामाजिक सद्भाव कायम राख्न साउन १७ गते बिहान ८:०० बजे स्थानीय शिव मन्दिरको प्राङ्गणबाट र्‍याली सुरु गरिने विज्ञप्तिमा उल्लेख छ। सञ्जालले उक्त र्‍यालीमा जातजाति, धर्म र संस्कृतिभन्दा माथि उठेर सबै क्षेत्रका व्यक्तिहरूलाई सहभागी हुन  अनुरोध गरेको छ।
बैठकले सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनामा परी गोली लागेर ज्यान गुमाएका कप्तानगञ्जका ओमप्रकाश मेहता र जयप्रकाश मेहता तथा सिरहाको औरही गाउँपालिकाका गणेश यादवप्रति  श्रद्धाञ्जली अर्पण गरेको छ। शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग माग समेत गरेको छ।
यसैगरी, सञ्जालले सप्तरी जिल्लामा हाल देखिएको खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थ (इन्धन) को अभावप्रति गम्भीर ध्यानाकर्षण गराउँदै अविलम्ब आपूर्ति सहज बनाउन स्थानीय प्रशासनसँग जोडदार माग गरेको छ। जिल्लाका समस्या र समसामयिक विषयमा निरन्तर छलफल गर्न पापड सप्तरीको बैठक कम्तीमा महिनाको एक पटक बस्ने निर्णय समेत गरिएको छ।
प्रेस विज्ञप्तिमा जिल्ला बार इकाई, गैसस महासंघ, नेपाल पत्रकार महासंघ, निर्माण व्यवसायी संघ, शिक्षक महासंघ, उद्योग वाणिज्य संघ, नेपाल चिकित्सक संघ, नेपाल प्राध्यापक संघ, महिला मानवअधिकार रक्षक सञ्जाल, नागरिक समाज, इन्सेक र परिकल्पना नेपालका सप्तरी प्रमुख तथा प्रतिनिधिहरूले संयुक्त हस्ताक्षर गरेका छन्।