• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कप्तानगञ्ज गोलीकाण्ड  : राजविराज र बोदेबर्साइनको कर्फ्यु २ घण्टा हटाइयो

कप्तानगञ्ज गोलीकाण्ड  : राजविराज र बोदेबर्साइनको कर्फ्यु २ घण्टा हटाइयो
न्यूज टुडे
राजविराज,१६ साउन । 
सप्तरी सदरमुकाम राजविराज र बोदेबर्साइनमा लगाइएको अनिश्चितकालीन कर्फ्यु  २ घण्टाको लागि हटाइएको  छ । जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा शनिबार एक सूचना जारी गर्दै विहान ७ देखि ९ बजेसम्म कर्फ्यु हटाइएको जनाएको हो ।
सर्वसाधारणको दैनिकीलाई परेको असुविधालाई मध्यनजर गर्दै शनिबार २ घण्टाका लागि कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाद्वारा जारी सूचनामा उल्लेख छ ।  कर्फ्यु हटाए पनि निषेधाज्ञा भने कायम रहेको सूचनामा जनाइएको छ । 
निषेधाज्ञाको समयमा पाँचजना भन्दाबढी भेला नपाउने र कुनै उछृखल गतिविधि गर्न नपाइने उल्लेख गरिएको सूचनामा जारी आदेशको अवज्ञा वा उलंघन गरिएको गरिएको पाइएमा प्रचलित कानून अनुसार कडा कारबाही हुने चेतावनी समेत दिइएको छ ।  विहान ९ बजे देखि पूर्व निर्धारित स्थान र तोकिएको सिमामा जारी कर्फ्यु आदेश कायम राखिएको सूचनामा उल्लेख छ ।  
 सुनसरी र सिरहा गोलीकाण्डपछि सप्तरीमा समेत आन्दोलन उग्र बनेपछि शुक्रबार विहान ८ बजेदेखि  लागू हुने गरी उक्त स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश गरिएको  थियो । 
जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन वा हुलदंगा भई शान्ति सुरक्षा भंग  हुन जाने देखिएकोले कर्फ्यु जारी गरिएको प्रजिअ थापाले जारी कर्फ्यु आदेशमा जनाएको छ । 
प्रजिअ थापाद्वारा जारी सूचनामा राजविराज भित्रका पूर्व खाडो खोला,पश्चिम हुलाकी राजमार्गको जमुनी थलही,उत्तर रुपनी रोडको बसविट्टी चौक र दक्षिण कोशी पश्चिम मुल नहर विष्णुपुर गाउँपालिकासम्म  तथा बोदेबर्साइन नगरपालिकाको चौहदीभित्र अर्को सूचना जारी नहुन्जेलसम्म कर्फ्यु आदेश गरिएको थियो । 
जिल्ला सुरक्षा समिति सप्तरीको शुक्रबार  विहान बसेको बैठकको निर्णयनुसार जिल्लाको शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासन ऎन २०२८ को दफा ६ (क) बमोजिम शुक्रबार ८ बजे देखि आर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरिएको सूचनामा जनाइएको छ । 
आदेशको कोही कसैबाट वर्खिलाप हुने गरि कुनै गतिविधि गरे, गराए, गराइएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने प्रजिअ थापाद्वारा जारी सूचनामा  चेतावनी समेत दिइएको छ । 
सुनसरीको कप्तानगञ्जमा हिन्दु र मुश्चिम समुदाय वीच भएको दंगा नियन्त्रणका क्रममा देवानगञ्जका २४ बर्षिय ओम प्रकाश मेहता, जय प्रकाश मेहता र सोही घटनाको विरुद्ध प्रदर्शनको क्रममा बल प्रयोग हुँदा सिरहाको गोल बजारमा बिहिवार १५ बर्षिय गणेश यादवको मृत्यु भएपछि थप सुरक्षा सम्वेदनशेलता बढेको छ । 
घटनामा मृत्यु हुनेको संख्या  ३ पुग्र्को छ भने एक दर्जन प्रदर्शनकारी गोली लागेर घाइते भएका छन् । साथै प्रदर्शनको क्रममा विभिन्न निजी घर तथा व्यवसायीक महलहरुमा आगजनी हुँदा अर्बौको सम्पत्ति क्षति भएको छ । प्रदर्शनको क्रममा झडप हुँदा केही प्रहरी समेत घाइते भएको प्रहरीले जनाएको छ । 
आन्दोलनको कारण पूर्वपश्चिम राजमार्ग ६ दिनदेखि ठप्प छन् ।  दंग भडिकिन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ ।