न्यूज टुडे
राजविराज,१४ साउन ।
सप्तरीको राजविराज नगरपालिका १२ स्थित दमावती टोलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । स्थानीय कैलु मण्डलको घरमा बिहीबार राती आगलागी भएको हो ।
आगलागीमा परि एक घर, एक गोठ जलेर पूर्ण रुपले नष्ट भएको छ । प्रारम्भिक क्षतिको विवरण अनुसार आगलागीमा परी १५ लाखबढीको क्षति भएको स्थानीयले बताएका छन् ।
आगलागीमा घर , गोठ, ४ थान गाई, नगद, गरगहना, खाद्यान्न, लत्ताकपडा, फर्निचर, भाँडाकुँडा पूर्ण रुपले जलेर क्षति भएको पीडित मण्डलले बताए । आगलागीमा परी २ वटा गोरु समेत घाइते भएको उनले जानकारी दिए ।
लामखुट्टे धपाउन बालेको घुरबाट आगो सल्किएर आगलागी भएको प्रहरीले अनुमान गरेको छ भने घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
राती २ बजे लागेको आगो अस्थायी प्रहरी विट तेतरेरगाछी र स्थानीयको सहयोगमा २ घण्टा पछि नियन्त्रणमा आएको स्थानीयले बताएका छन् । आगलागीबाट भएको पूर्ण क्षतिको विवरण आउन बाँकी रहेको छ ।