न्यूज टुडे
राजविराज,१४ साउन ।
बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०८३ बाट मानवाधिकारकर्मी राजु पासवान सम्मानित हुने भएका छन् । मानव अधिकार तथा सामाजिक न्यायको अभियानमा महत्वपूर्ण योगदान पुर्याएका सप्तरीको शम्भुनाथ नगरपालिका-१ कचन्दाहाका ४८ वर्षीय पासवान ११ औं बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित हुने भएका हुन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा ‘२१ औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट सम्मानित राजविराज नगरपालिका–७ का बैद्यनाथ झाले प्राप्त गरेको नगद रु. ५० हजारबाट स्थापना भएको बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषको बिहीवार बसेको बैठकले एघारौ पटकको पुरस्कारबाट पासवानलाई सम्मानित गर्ने निर्णय भएको पुरस्कार छनौट समितिले जनाएको छ ।
यो पुरस्कार २०७३ सालदेखि प्रत्येक वर्ष मानव अधिकार तथा नागारिक आन्दोलनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिने कोषले जनाएको छ ।
३४औं प्रकाश स्मृति दिवसका अवसरमा शनिबार दिउँसो १ बजे राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा एक समारोहको आयोजना गरी पासवानलाई सम्मानित गरिने कोषका सचिव मनोहर कुमार पोखरेलले जानकारी दिए । पासवानलाई पुरस्कारस्वरुप ११ हजार पाँच रूपियाँ, सम्मान–पत्र तथा दोसल्ला प्रदान गरिने छ ।
गरिबी, विभेद र अन्याय देख्दै, भोग्दै पीडितको पक्षमा स्थानीय समुदायलाई सचेत र संगठित पार्दै सामाजिक जीवन आरम्भ गर्नुभएका पासवान मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा साढे दुई दशकदेखि निरन्तर क्रियाशील र कटिबद्ध छन् ।
समुदायको सशक्तिकरण र जागरण, हिंसा पीडितको उद्धार र पुनर्स्थापना, पैरवी, मानव अधिकार र सामाजिक न्यायका लागि निरन्तर क्रियाशील र सरल उनी कानूनमा स्नातक र आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर तहको उपाधि हासिल गरी एमफिलमा अध्ययनरत छन् । मानव अधिकार, विधिको शासन र प्रजातन्त्र प्रतिको आस्था र निष्ठा तथा अपहेलित समुदायको सम्मानित जीवनका लागि पासवान निरन्तर क्रियाशिल छन् ।
यसैगरी उर्मिलादेबी झा स्मृति मैथिली लोकगीत गायन पुरस्कार २०८३ सप्तरीको राजगढ गाउँपालिका नर्घो घर भई हाल राजविराज नगरपालिका ६ निवासी शीलमदेबी झा लाई प्रदान गरिने भएको छ । प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाद्वारा आफ्ना भाई बुहारी स्वर्गीय उर्मिला देवी झाको स्मृतिमा प्रदान गर्दै आएको मैथिल लोकगीत गायन पुरस्कारको राशी दुई हजार ५ सय रुपियाँ रहेको छ ।
लोक गायनको माध्यमबाट मैथिली भाषा, संस्कृतिको जगेर्नामा महत्त्वपूर्ण योगदान गरेकोले मैथिली महिला परिषद्को सिफारिशमा झालाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको पत्रकार झाले बताए ।
झाको भाइ बुहारी उर्मिला देवी सात बर्ष अगाडि मधु श्रावणी पर्वको लागि सामान लिन भनी विराटनगर गएको बेला एम्बुलेन्सको ठक्करबाट निधन भएकी थिइन् । उनकै स्मृतिमा प्रत्येक बर्ष मधुश्रावणी पर्वको अवसरमा एक जनालाई सम्मान गर्दै आएको पुरस्कारका संस्थापक झाले जानकारी दिए।