• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कप्तानगञ्ज घटना : सप्तरी सदरमुकामसहित विभिन्न स्थानमा प्रदर्शन जारी

कप्तानगञ्ज घटना : सप्तरी सदरमुकामसहित विभिन्न स्थानमा प्रदर्शन जारी
उत्तम आचार्य 
कन्चनरुप , १३ साउन ।
सुनसरीको कप्तानगञ्ज घटना विरुद्धमा सप्तरी सदरमुकाम राजविराजसहित विभिन्न स्थानमा बुधबार विहानदेखि विरोध प्रदर्शन जारी रहेको छ ।  विभिन्न हिन्दुवादी संघसंस्था आवद्ध हिन्दुवादीहरुले  घटनाको विरोधमा राजविराज बजार बन्द गर्दै पूर्वपश्चिम राजमार्गको विभिन्न स्थानमा  सडकमा टायर बालेर प्रदर्शन गरेको हो । 
राजविराज- भारदह सडकखण्ड अन्तर्गत सप्तरी तिलाडीकोइलाडी गाउँपालिका ७ सडेपारमा चौकमा गरिएको प्रदर्शन । फोटो : रामनाथ यादव
प्रदर्शनका कारण राजविराज बजार पूर्ण रुपले बन्द हुँदा सर्वसाधारणले सास्ती खेप्न बाध्य भएको छ ।  मंगलबार हिन्दु सम्राट सेनाले एक प्रेस विज्ञप्तिजारी गर्दै  सुनसरी घटनाको विरुद्ध बजार बन्दको आव्हान गरेको थियो । राजविराजमा अहिले विरोध प्रदर्शन जारी रहेको स्थानीयले बताएका छन् । 
यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका ११ स्थित सिमराचोकमा  समेत  टायर बालेर चक्काजाम गरिरहेका छन । घटनाको सत्यतथ्य छानबिन गरि दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीय सनातनी हिन्दु युवाहरूको समूहले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । 
यसैगरी राजविराज- भारदह सडकखण्ड अन्तर्गत हनुमाननगर बजार, कंचनपुर -राजविराज हुलाकी राजमार्ग अन्तर्गत तिरहुत ४ स्थित डिमन चौक तथा जिल्लाको मुख्य सडक तथा चौकहरुमा हिन्दुवादीहरुले प्रदर्शन जारी राखेका छन् । 
दुई धार्मिक समुदाय वीच उत्पन्न विवाद भड्किन नदिन प्रहरीले चलाएको गोली लागेर देवानगन्ज ३ का २४ बर्षीय ओमप्रकाश मेहताको मृत्युको घटनाको विरुद्ध भएको आन्दोलनको समर्थनमा विरोध प्रदर्शन गरिएको स्थानीय युवाहरूले बताए । उनीहरुले विहान ९ बजेदेखि सडकमा टायर बालेर विरोध प्रदर्शन गरि रहेका छ्न ।
युवाहरूले टायर बालेर विरोध प्रदर्शन गरेपछि पूर्वपश्चिम राजमार्गको सिमरा सडकखण्डमा अहिले चक्काजाम तथा नारा जुलुस भइ रहेको छ। आन्दोलनका कारण सयौंको संख्यामा सवारीसाधन सडकमै रोकिएको थियो । 
घटनाको सत्यतथ्य छानबिन गरि दोषीमाथि कडा कारबाही गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनपर्ने  लगायतका माग सार्दै स्थानीय सनातनी हिन्दु युवाहरूले विरोध प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको थियो । उनीहरुले घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाही नभएसम्म आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् । 
आइतबार राती दुई धार्मिक समुदाय वीच द्वन्द भड्किएपछि प्रहरीको गोली लागेर मेहताको मृत्यु भएको थियो भने अन्य नौ जना घाइते भएका थिए । घाइते मध्य थप एक जनाको समेत मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या २ पुगेको छ । युवाहरूले बालेन सरकार मुर्दाबाद , प्रधानमन्त्री र गृहमन्त्री राजिनामा दे , हिन्दू रास्ट्र घोषणा गर , दोषीलाइ कारबाही गर ,जस्ता नाराहरु लगाइ बिरोध प्रदर्शन गरि रहेका छन ।
घटनाको विरोधमा छिटफुट निजी सम्पत्तिमा आगजनी तथा तोडफोड गर्ने जस्ता उत्तेजित घटना हुन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।