उत्तम आचार्य
कन्चनरुप , १२ साउन ।
सुनसरीको कप्तानगञ्ज घटना विरुद्धमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका स्थित रुपनगर चोकमा मंगलबार दुइ घण्टा चक्काजाम गरिएको छ । घटनाको सत्यतथ्य छानबिन गरि दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीय सनातनी हिन्दु युवाहरूको समूहले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेको हो ।
दुई धार्मिक समुदाय वीच उत्पन्न विवाद भड्किन नदिन प्रहरीले चलाएको गोली लागेर देवानगन्ज ३ का २४ बर्षीय ओमप्रकाश मेहताको मृत्युको घटनाको विरुद्ध भएको आन्दोलनको समर्थनमा विरोध प्रदर्शन गरिएको स्थानीय युवाहरूले बताए । उनीहरुले विहान ९ बजेदेखि ११ बजेसम्म सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।
युवाहरूले टायर बालेर विरोध प्रदर्शन गरेपछि पूर्वपश्चिम राजमार्गको रुपनगर सडकखण्डमा दुई घण्टा चक्काजाम भएको थियो । आन्दोलनका कारण सयौंको संख्यामा सवारीसाधन सडकमै रोकिएको थियो ।
त्यसैगरी कंचनपुर बेरियर र सिमरा चोकमा समेत टायर बालेर युवाहरुले बिरोध प्रदर्शन गरेका थिए ।
घटनाको सत्यतथ्य छानबिन गरि दोषीमाथि कडा कारबाही गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनपर्ने लगायतका माग सार्दै स्थानीय सनातनी हिन्दु युवाहरूले विरोध प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको थियो । उनीहरुले घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाही नभएसम्म आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् ।
उक्त स्थानमा बाक्लो प्रहरी परिचालन गरिएपछि तत्काल चक्काजाम खोल्ने तथा शान्तिपूर्ण रुपमा अन्य दवाव मुलक आन्दोलनका कार्यक्रम अगाडि बढाउने सहमतिपछि स्थानीय युवाहरु पछि हटेका थिए । आन्दोलनका कारण सवारी साधन रोकिंदा हजारौं यात्रुहरु सास्ती खेप्न बाध्य भएको थियो ।
आइतबार राती दुई धार्मिक समुदाय वीच द्वन्द भड्किएपछि प्रहरीको गोली लागेर मेहताको मृत्यु भएको थियो भने अन्य नौ जना घाइते भएका थिए । घाइते मध्य थप एक जनाको समेत मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या २ पुगेको छ ।
घटना पछि आन्दोलन थप उग्र बनेपछि स्थानीय प्रशासनले उक्त क्षेत्रमा कर्फ्यु जारी गरेको थियो। घटनाको विरोधमा सुनसरी सदरमुकाम इनरुवा, मोरङ्ग्को विराटनगर, सप्तरीको राजविराज, जनकपुर, वीरगन्ज लगायत मुख्य शहर तथा चौकहरुमा सोमबार विहानदेखि स्थानीयबासी विरोध प्रदर्शनमा उत्रिएका छन् ।
आन्दोलन उग्र बन्दै गएपछि नेपाली सेना परिचालन गरिएको थियो । हाल अवस्था सामान्य बन्दै गएपछि स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटाएको छ भने संदेदनशील क्षेत्रमा निषेधाज्ञा भने कायमै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।