• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

दिसाजन्य लेदो प्रशोधन केन्द्र संचालनमा प्रतिबद्धता

दिसाजन्य लेदो प्रशोधन केन्द्र संचालनमा प्रतिबद्धता
न्यूज टुडे
राजविराज,१० साउन । 
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ४ स्थित विशाल चौकमा मधेस प्रदेशकै पहिलो दिसाजन्य लेदो प्रशोधन केन्द्र संचालनमा सहयोग गर्ने जनप्रतिनिधि तथा सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । महुली सामुदायिक विकास केन्द्र बकधुवाको आयोजना तथा जिल्ला समन्वय समिति सप्तरीको समन्वयमा राजविराजमा आइतबार आयोजित दिसाजन्य लेदो प्रशोधन केन्द्र संचालन तथा व्यवस्थापनको लागि जिल्ला स्तरीय सरोकारवालासंग अन्तरक्रिया बैठकका सहभागीहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
एफएसटिपी संचालन बारे सुझाव दिदै सुरुङ्गा नगरपालिकाका प्रमुख गिता चौधरी । फोटो : न्यूज टुडे
कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माणले मानव मलमुत्र व्यवस्थापनमा सहयोग गुग्ने  विश्वास व्यक्त गर्दै प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
सुरुङ्गा नगरपालिकाकी नगरप्रमुख गिता चौधरीले प्रशोधन केन्द्र संचालनले पर्यावरण सुरक्षामा योगदान गर्ने भन्दै यसको संचालन र व्यवस्थापन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । 
सप्तकोसी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद ढकालले प्रशोधन केन्द्र संचालन संगै जिल्लाबासीलाई चौतर्फी फाइदा पुग्ने बताए । उनले प्रशोधन केन्द्र संचालनमा आएसंगै मल समस्या समाधानमा सहयोग पुग्ने भएकोले सर्वपक्षीय सहयोगको आवश्यकता औल्याए । 
तिरहुत गाउँपालिका अध्यक्ष विजय कुमार यादवले प्रशोधन केन्द्रलाई व्यवसायीकरण गर्दै आयर्जन तथा रोजगारीसंग जोड्नुपर्ने सुझाव दिदै यसको उपयोगका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए । 
अग्नीसाइर कृष्णासवन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले मधेस प्रदेशकै गौरवको योजनाको रुपमा फरक उदेश्यसहित प्रशोधन केन्द्र संचालन गर्नको लागि पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेकोले यसको सफल संचालनमा सबै पालिका तथा सरोकारवालाहरुको सहयोग र सुझावको अपेक्षा गरे । 
महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभुनारायण चौधरीले बाताबरणको सुरक्षा, मल उत्पादन र विक्री वितरण तथा पर्यटनसंग जोडेर आन्तरिक आय अर्जन र रोजगारी सिर्जना गर्ने उदेश्यले प्रशोधन केन्द्रको परिकल्पना गरिएको बताए । केन्द्रबाट प्रशोधित ठोस मल र पानी कृषि मलको रुपम उपयोग हुने भएकोले यसले स्थानीय  किसानबढी लाभान्वित हुने उनले बताए । 
अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र प्रसाद यादवले केन्द्रलाई सरसफाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गरी यसले किसानले अपनोन्त्व लिने र यसको महत्व बढ्दै जाने उल्लेख गरे ।  
प्रशोधन केन्द्रका परिकल्पनाकार सहयोगी संस्था डब्लू एचएचका प्राविधिक संयोजक नवीन राना मगरले प्रशोधन केन्द्रको ६० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिदै आगामी कार्तिक भित्र संचालन ल्याउने लक्ष्य लिएको बताए । दुई करोड ५३ लाखको लागतमा पूर्वाधार निर्माण कार्य थालिएको बताउँदै उनले यसले जिल्लाको दिसाजन्य लेदो व्यवस्थापन गरि कृषिमा उपयोग गर्न सकिने भएकोले सबैभन्दाबढी जिल्लाबासीले फाइदा लिने बताए । 
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहको अध्यक्षतामा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजका प्रमुख विश्वनाथ प्रसाद यादव, राजविराज नगरपालिका ३ का कार्यबाहक अध्यक्ष विरेन्द्र कुमार साह, शम्भुनाथ नगरपालिकाका प्रतिनिधि देव नारायण साहलगायतले मन्तव्य व्यक्त गरे । 
महुली सामुदायिक विकास केन्द्रका सह निर्देशक एवम् दिसाजन्य लेदो प्रशोधन केन्द्र ( एफएसटिपी) का कार्यक्रम संयोजक चन्द्रनारायण चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत तथा सहजीकरण कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले गरे । 
डब्लूएचएच र बिएमजेडको सहयोगमा आयोजित बैठकमा विभिन्न ९ वटा नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा प्रतिनिधि सहभागी अन्तरक्रिया बैठकले दिसाजन्य लेदो व्यवस्थापन तथा प्रशोधनको लागि नीति निर्देशिका निर्माणमा पहल गर्ने,स्थानीय तहबाट उत्पादन हुने लेदो फोहोर प्रशोधन केन्द्रस्स्म्म पुर्‍याउन पहल गर्ने, केन्द्रबाट उत्पादन हुने ठोस मल,र प्रशोधित पानी मलको रुपमा प्रयोग गर्न किसानहरुलाई प्रेरित तथा प्रोत्साहन गर्ने, केन्द्रलाई जिल्ला समन्वय समितिको समन्वयमा संयुक्त स्वामित्व लिने, सम्पूर्ण सरोकारवालाहरुले लेदो फोहोर व्यवस्थापनमा सुरक्षित व्यवस्थापनको लागि पहल गर्ने, जिल्लालाई स्वच्छ, सफा र सुन्दर जिल्ला बनाउन पहल गर्ने र अन्तर स्थानीय तहमा सरसफाइ तथा स्वच्छताको लागि समन्वय गर्ने निर्णय गरिएको केन्द्रका इन्जिनियर ओमप्रकाश पण्डितले जानकारी दिए ।