न्यूज टुडे
राजविराज,०९ साउन ।
जिल्ला वन कार्यालय सप्तरीद्वारा संचालित योजनाको पत्रकार तथा वन पदाधिकारी र कर्मचारीहरुले संयुक्त अनुगमन गरेका छन् । डिभिजन वन कार्यालय सप्तरीको आयोजनामा शनिबार निजी तथा वन क्षेत्रमा संचालित विभिन्न परियोजनाहरुको अनुगमन गरेको हो ।

जिल्ला स्तरीय संयुक्त टोलीले सप्तरीको सप्तकोसी नगरपालिका १ स्थित रक्तमाला सामुदायिक वन उपभोक्ता समुहद्वारा संचालित जुटपानी ट्री हाउस पार्क, सव डिभिजन बन कार्यालय कंचनपुरलगायत जिल्लाका विभिन्न स्थानमा गरिएको बृक्षरोपण, पूर्वाधार निर्माणका कार्यहरुको अनुगमन गरे ।

डिभिजन बन कार्यालय सप्तरीका डिभिजन अधिकृत सुभाष चन्द्र दासले जिल्लामा कुल बन क्षेत्रफल,कार्यालयको कार्यक्षेत्र र जिम्मेवारी , जिल्लाको अवस्थिती र पहुँच, डिभिजन वन कार्यालय सव डिभिजन वन कार्यालयहरुको परिचय र केन्द्र, डिभिजन वन कार्यालयको सांगठनिक ढाँचा, डिभिजन वन कार्यालय सप्तरीको दरबन्दी र पदपूर्तिको अवस्था, वनको किसिम बारे जानकारी दिए । यसैगरी स्थानीय तह अनुसार प्राकृतिक वन क्षेत्र र सामुदायिक वन क्षेत्रको विवरण, आव ०८२/८३ मा डिभिजन वन कार्यालय सप्तरीले गरेको बार्षिक प्रतिबेदन, बार्षिक प्रगति, विरुवा उत्पादन, कार्य प्रगति विवरण, विभिन्न उपकरण खरिद,विभिन्न वन पैदावरमा आधारित कसुरजन्य कार्य नियन्त्रण तथा कारबाही, विद्यालय शिक्षा कार्यक्रम, पोखरी मर्मत तथा निर्माण कार्यको बारे समेत उनले जानकारी दिए ।
उनले निर्माण सामाग्रीको दररेटमा फरक पर्दा उपभोक्ताले योजना पूर्ण रुपमा सम्पन्न गर्न नसकेको उल्लेख गर्दै यसले सम्पूर्ण पूर्वाधार निर्माण कार्य प्रभावित भएको बताए ।
रक्तमाला सामुदायिक वन उपभोक्ता समुह सप्तकोसी नगरपालिका १ फत्तेपुरका अध्यक्ष इन्द्र प्रसाद लुइँटेलले जुटपानी ट्री हाउस पार्कलाई रोजगारी तथा आयआर्जन संग जोड्न सफल भएको बताए । डिभिजन वन कार्यालय, प्रदेश सरकार, स्थानीय सरकार, स्थानीयबासी, वन उपभोक्ताहरुको संयुक्त सहयोगमा वन क्षेत्रलाई आन्तरिक तथा बहय पर्यटकको आकर्षणको केन्द्रमा विकास
वनबाट लाखौं आमदानी लिन सफलता पाएको बताए ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले पत्रकार र बन पदाधिकारी तथा कर्मचारीहरुको संयुक्त अनुगमनले योजनाको पारदर्शितामा टेवा पुग्ने विश्वास गरे । उनले राम्रो कामको सकारात्मक समाचार संकलन गर्ने तथा कही त्रुटी पाइएमा आलोचनात्मक समाचार लेखेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जुटपानी ट्री हाउसका लेखा समिति संयोजक खगेन्द्र कार्कीले जिल्लाका प्रतिष्ठित पत्रकारहरुको अनुगमन तथा निरीक्षणले पर्यटन क्षेत्रको रुपमा विकास हुँदै गएको यस क्षेत्रको प्रचारप्रसारमा योगदान पुग्ने बताए ।
टोलीमा सप्तरीका विभिन्न मिडियामा कार्यरत पत्रकारहरु, कन कार्यालयका पदाधिकारी तथा कर्मचारीहरु, वन उपभोक्ता समितिका प्रतिनिधिहरुको सहभागिता थियो ।