• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पूर्वमन्त्री साहसहित आधादर्जन विरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वमन्त्री साहसहित आधादर्जन विरुद्ध भ्रष्टाचार मुद्दा दायर
न्यूज टुडे
राजविराज,०८ साउन ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिब एवम् मधेश प्रदेश सरकारका पूर्व अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहसहित आधादर्जन विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
मन्त्रीसाह सहित मधेश प्रदेश सरकारका तत्कालीन सचिव तथा सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन जनप्रतिनिधि र कर्मचारीविरुद्ध आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ । 
आयोगले मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयका तत्कालीन मन्त्री साह र तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर विरुद्ध जनही रु. ३५ करोड बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न दफाअन्तर्गत कारबाही तथा बिगो असुलउपरको माग गरेको आरोप पत्रमा उल्लेख छ । 
यसैगरी सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरत कुमार थापा, तत्कालीन उपप्रमुख लिला कुमारी मोक्तान लगायत पदाधिकारी तथा कर्मचारीविरुद्ध पनि सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको आरोपमा मुद्दा दायर गरिएको छ ।
आरोपपत्रअनुसार तत्कालीन नगर प्रमुख र उपप्रमुखका हकमा जनही रु. ३९ करोड २३ लाख ६६ हजार ३ सय ३३ रुपैयाँ १३ पैसा बिगो कायम गरिएको छ ।
यसैगरी, मधेश प्रदेश सरकार, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव उदयराज न्यौपाने, बिकोई/धुलिखेल जे.भी., बानेश्वर, काठमाडौंका आधिकारिक प्रतिनिधि युवराज पौडेल तथा बागमती नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल लगायतलाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।
प्रतिवादीहरूले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको पुष्टि हुने आधार भेटिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ लगायतका प्रावधानबमोजिम बिगो असुलउपर, कैद तथा अन्य कानुनी सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार बताएको छ ।