उत्तम आचार्य
कन्चनरुप , ०४ साउन ।
साउन महिनाको पहिलो सोमबार(आज) सप्तरी सदरमुकाम राजविराजका शिव मन्दिर, महादेवाको अंकुरी महादेव मन्दिरसहितका जिल्लाका प्रसिद्ध शिवालयहरुमा श्रदालू भक्तजनहरुको आकर्षण बढेको छ । शिव मन्दिरहरुमा पूजाअर्चना गर्ने श्रद्धालु भक्तजनहरूको बिहानैदेखि ठूलो घुइँचो लागेको हो ।
साउने सोमबार र साउन महिनाभरी शिवको विशेष आराधना गर्ने परम्परा अनुसार स्थानीय मन्दिर व्यवस्थापन समितिहरूले विशेष तयारी र व्यवस्थापन मिलाएका छन्।
त्रिमार्ग त्रिपुरेश्वर र धरमेश्वर महादेव मन्दिरमा विशेष तयारी
कञ्चनरुप नगरपालिका-१२, रुपनगरस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको त्रिमार्ग त्रिपुरेश्वर महादेव मन्दिरमा भक्तजनहरूको सुविधाका लागि विशेष प्रबन्ध मिलाइएको छ।
मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष शारदा तिम्सिनाका अनुसार साउन महिनाभरि दर्शनार्थीहरूलाई सहज रूपमा दर्शन गराउन मन्दिर प्रशासन लागिपरेको छ।
“साउन महिनामा भगवान शिवको दर्शन गर्न टाढा-टाढाबाट धेरै श्रद्धालु भक्तजनहरू आउनुहुन्छ। उहाँहरूलाई जल चढाउन र पूजाआजा गर्न सजिलो होस् भनेर हामीले सबै पूर्वतयारी पूरा गरेका छौँ।’अध्यक्ष तिम्सिनाले भनिन्, ‘भक्तजनहरूको चापलाई मध्यनजर गर्दै बिहानैदेखि मन्दिरको ढोका खुल्ला रहने व्यवस्था मिलाएका छौँ, जसले गर्दा कसैले पनि सास्ती भोग्नु पर्ने छैन।”
यसैगरी कञ्चनरुप-१२, धर्मापुरस्थित धरमेश्वर महादेव मन्दिरमा पनि व्रतालु र दर्शनार्थीहरूको स्वागतका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लिल बहादुर मगरले भक्तजनहरूलाई लाइनमा बस्न, पूजाआजा गर्न र जल चढाउन कुनै सास्ती नहोस् भनी शान्ति सुरक्षा, खानेपानी र स्वयम्सेवक परिचालन लगायतका सबै तयारी चुस्त दुरुस्त बनाइएको बताए ।
भजनेश्वर र शम्भुनाथ शिवालयमा धार्मिक उत्सव
भजनेश्वर महादेव मन्दिर (कञ्चनरुप-६, बलुवा): बलुवामा रहेको भजनेश्वर महादेव मन्दिरमा पनि साउनको पहिलो दिन विशेष पूजापाठ, भजनकीर्तन र दर्शनको व्यवस्था मिलाइएको छ।
शम्भुनाथ शिवालय (शम्भुनाथ नगरपालिका): सप्तरीको प्रसिद्ध धार्मिक स्थल शम्भुनाथमा पनि सोमबार बिहानैदेखि जल चढाउने भक्तजनहरूको लामो भिड लागेको छ। यस मन्दिरमा सप्तरी, सिराहाका साथै सीमावर्ती भारतीय सहरहरू सुपौल र मधुवनी जिल्लाबाट समेत दर्शनार्थीहरू आएका छन्।
बजारमा मेहन्दी र हरियो चुराको चमक
साउन सुरु भएसँगै फत्तेपुर कञ्चनरुप, महुली, विरेन्द्र बजार , बोदेबर्साइन, कठौना, कल्याणपुर,रुपनी, भारदह र सदरमुकाम राजविराज लगायतका मुख्य बजारहरूमा हरियो तथा पहेँलो चुरा, पोते र मेहन्दीको व्यापार निकै फस्टाएको छ। महिलाहरूले हरियो वस्त्र र शृङ्गारका सामान खरिद गरेर साउन महिनालाई उत्सवका रूपमा मनाउन थालेका छन्।
साउन महिनाभरि चल्ने यो धार्मिक अनुष्ठानले स्थानीय क्षेत्रमा एउटा छुट्टै आध्यात्मिक र सांस्कृतिक ऊर्जा थपेको स्थानीयले बताएका छन् ।