न्यूज टुडे
राजविराज,०२ साउन ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा शनिबार गैडा मानव बस्स्तीमा पसेपछि स्थानीयबासी त्रसित भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट गैडा बस्ती पसेपछि स्थानीयबासी त्रसित भएका हुन् ।
शनिबार बिहान करिब ४ बजे गैंडा आरक्षबाट बाहिरिएर गाउँ हुँदै कञ्चनपुर बेरियर पुगेपछि स्थानीयबासी त्रसित बनेका छन्। बस्ती नजिकै गैंडा देखेपछि बालबालिका र वृद्धवृद्धाहरू भागाभाग गर्ने अवस्था आएको स्थानीयले बताए ।।
पथरी क्याम्पका कर्मचारी र इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले घेरा हालेर गैंडालाई पुनः आरक्षतर्फ फर्काएको स्थानीय मिना थापाले बताइन् ।
गैडा राख्ने ढोका तथा जालीको तारवार भत्किएकोले सुरक्षा जोखिम उच्च देखिएको स्थानीय बताउँछन् ।
आरक्ष प्रशासनले यसको मर्मत सम्भारमा ध्यान नदिँदा गैंडाहरू सजिलै बाहिर निस्कने गरेको उनीहरुको दावी छ ।
व्यवस्थापन पक्षको कमजोरी स्वीकार गर्दै पथरी सेक्टरकै एक कर्मचारीले गैंडा थुन्ने गोठको ढोका फुटेको बाहिर निस्किएको बताए।
‘हामीले पटक-पटक माथिल्लो निकायमा जानकारी गराउँदा र मर्मतका लागि आग्रह गर्दा पनि कसैले ध्यान दिएनन्” उनले भने
अधिकृत वीरेन्द्र गौतमलेआरक्ष प्रशासनको बचाउ गर्दै स्थानीय बासिन्दामाथि नै दोष थपेका छन्। केही स्थानीयले घाँस-दाउरा काट्नका लागि आरक्षको जाली र तारवार काट्ने गरेको र त्यही बाटो प्रयोग गरेर गैंडाहरू बाहिर निस्कने गरेको उनको दाबी छ।।
“तारवार जोगाउने र वन्यजन्तु संरक्षण गर्ने दायित्व स्थानीयको पनि हो, उहाँहरूको सहयोग विना यो सम्भव छैन।” उनले भने
आरक्ष प्रशासनले आफ्नो कमजोरी लुकाउन गैरजिम्मेवार जवाफ दिएको आरोप स्थानीयले लगाएका छन्। उनीहरूले तत्काल आरक्षको घेराबेरा मर्मत गर्न, सुरक्षा प्रबन्ध चुस्त बनाउन र चौबीसै घण्टा निगरानीको व्यवस्था मिलाएर स्थानीयको जिउधनको रक्षा गर्न माग गरेका छन्।
प्रशासनको लापरबाहीका कारण तीन वर्षअघि ल्याइएका गैंडाहरू बारम्बार गाउँ पस्न थालेपछि सप्तरीको कञ्चनरुप क्षेत्रका स्थानीयबासी आतंकित भएका छन् ।
वि.सं. २०८० सालमा चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरी आरक्षको पथरी सेक्टरमा राखिएका ‘पुष्पा’ र ‘अञ्जली’ नामका दुई पोथी गैंडा पछिल्लो समय नियमित रूपमा मानव बस्तीमा प्रवेश गर्न थालेकाले सुरक्ष जोखिम बढेको स्थानीयको भनाइ छ।
आरक्षको जीर्ण घेराबेरा र फितलो व्यवस्थापनका कारण रातिको समयमा वन्यजन्तु गाउँ पस्दा डर, त्रास र सम्भावित मानवीय क्षतिको चिन्ता चुलिएको स्थानीयले बताउँछन् ।