• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सदाले दिइन् तिम्ल्याहा सन्तानको जन्म, आमा र शिशु सबै सकुशल

सदाले दिइन् तिम्ल्याहा सन्तानको जन्म, आमा र शिशु सबै सकुशल
उत्तम आचार्य 
कन्चनरुप , ०१ साउन ।
सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर १ धनपुरी निवासी सरिता देवी सदाले एकै पटक तीन जना सन्तान (तिम्ल्याहा) लाई जन्म दिएकी छन्। बिहीबार दिउँसो करिब ३:३० बजे स्थानीय भारदह अस्पतालमा उनको सामान्य प्रसूति (नर्मल डेलिभरी) गराइएको हो। 
अस्पताल प्रशासनका अनुसार सरिताले तीनवटै छोरी जन्माएकी हुन्। हाल आमा र तीनै जना नवजात शिशुहरूको स्वास्थ्य अवस्था सामान्य र सकुशल रहेको छ।
चिकित्सकहरूका अनुसार चिकित्सा विज्ञानमा निकै जटिल मानिने यस्तो तिम्ल्याहा गर्भावस्थामा विना शल्यक्रिया सामान्य प्रसूति हुनु र आमा तथा बच्चाहरू दुवै सुरक्षित रहनु निकै सकारात्मक र सुखद विषय हो। ग्रामीण तथा स्थानीय तहमा रहेको भारदह अस्पतालले नै यस्तो जटिल प्रसूति सेवा सफलतापूर्वक सम्पन्न गरेपछि स्थानीय बासिन्दाहरूले अस्पतालको स्वास्थ्य टोलीको उच्च प्रशंसा गरेका छन्।
स्थानीय सामाजिक कार्यकर्ता जसो माझीले सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै भारदह अस्पतालमा एकै साथ तीन सन्तानको जन्म भएको र आमा तथा बच्चा सबै सकुशल रहेको जानकारी दिएका छन्। ग्रामीण क्षेत्रका अस्पतालहरूको स्तरोन्नति र दक्ष जनशक्ति भएमा स्थानीयस्तरमै जटिल उपचार सम्भव हुने यस घटनाले पुष्टि गरेको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ।
विपन्न तथा सीमान्तकृत सदा समुदायकी यी सुत्केरी र तीन नवजात शिशुहरूको पोषण, थप स्वास्थ्य उपचार तथा पालनपोषणका लागि स्थानीय सरकार र सरोकारवाला निकायले विशेष सहयोग र प्रोत्साहन उपलब्ध गराउनुपर्ने माग समेत स्थानीय स्तरमा उठ्न थालेको छ।