आफुले चढेको मोटरसाइकलको ठक्करबाट मृत्यु भएका बालकलाई लिएर भाग्दै गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । सप्तरीको शम्भुनाथ नगरपालिका ५ का मो. सादनको छोरा बर्ष १४ को मो.साविकलाई ठक्कर दिएर आफैंले चलाएको मोटरसाइकल लिएर भाग्दै गरेका भारतको मधुवनी खतौनी पिपराहीका बर्ष २८ को मो. सादर आलम पक्राउ परेका हुन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ६ स्थित कठौनामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको विआर ३२ बिडी ९७६४ नम्बरको भारती मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको बालक सवार साईकललाई बुधबार साँझ ०६:५० बजे ठक्कर दिदा उक्त दुर्घटना भएको थियो।
दुर्घटना भएपछि आलमले सोही मोटरसाइकलमा उठाएर लगेको बालकलाई सप्तरीको खडक नगरपालिका १ स्थित सिस्वाबेल्हीमा फेला पारी स्थानीयले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको बालकको आफन्तले बताएका छन् ।
पूर्वपश्चिम राजमार्गको खडक नगरपालिका ५ खरचुहीया चौकदेखी दक्षिण भित्री सडक हुँदै भारततर्फ जाँदै गरेको मोटरसाइकलमा राखेको मृतक बालकलाई फ्याकेर भाग्न खोजेको आरोप आलममाथि स्थानीयले लगाएका छन् । मोटरसाइकलमा सवार मध्ये एकजना भने फरार भएको स्थानीयले जनाएका छन् ।
मृतक बालकको शव गजेन्द्रनारायण सिंह अस्पतालमा परिक्षणका लागि पठाइएको तथा पक्राउ परेका आलम र मोटरसाइकल इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखी कारबाही अगाडि बढाइएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी हेमराज घिमिरेले बताए ।
दुर्घटना पछि बालकलाई किन मोटरसाइकलमा चढाएर लगेको हो भन्ने बारे प्रहरीले थप अनुसन्धान अगाडि बढाइएको तथा त्यसपछि बाँकी विवरण उपलब्ध गराउने डिएसपी घिमिरेले जानकारी दिए ।
आलमको लापरवाहीले बालकको ज्यान गएको भन्दै आक्रोशित आफन्तजन तथा स्थानीयबासीले बिहीवार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिका ६ कठौनामा ३० मीनेट सडक अवरुद्ध गरेका छन। आलमलाई कडा कारबाही गर्नुपर्ने तथा मृतक बालकको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पार्ने उनीहरुको माग छ ।