सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ बेल्हास्थित थुनिएको भलुवाही खोला महिनौपछि खोलिएको छ । चौतर्फी दवावपछि गाउँपालिकाले सोमबार डोजर चलाएर पुरीएको माटो हटाएको हो ।
थुनिएको खोला हटाउन उपस्थित वडा अध्यक्ष यादवसहित स्थानीय प्रहरी । फोटो : न्यूज टुडे
स्थानीय रामी यादव, अशोक चौधरी, सुरेन्द्र चौधरी, भोला भन्ने अनिल यादवलगायतका समूहले पानीको बहाव रोकिने गरि खोलामा पुरेको माटो हटाउन वडा नम्बर ४ का वडाध्यक्ष एवम् गाउँपालिका प्रबक्ता तेज नारायण यादव सक्रिय देखिएका थिए । इलाका प्रहरी कार्यालय महुलीको प्रहरी टोली, गाउँप्रहरीको सुरक्षा वीच गाउँका अगुवा भन्ने समुहले पुरेको खोला संचालनमा ल्याएको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीको पटकपटकको पत्राचार पछी थुनिएको खोलाको अबरोध हटाएको स्थानीय राम प्रसाद यादवले बताए । निमुखाको पनि प्रशासनले कुरा सुनिदिएप्रति खुशी व्यक्त गर्दै उनले जिल्ला प्रशासन कार्यालय, गाउँपालिका, वडा कार्यालय, पत्रकार, स्थानीय प्रहरी प्रशासन, जनप्रतिनिधि, नागरिक स्स्माज,विभिन्न पार्टी प्रतिनिधि तथा सहयोगी सबैलाई धन्यवाद समेत व्यक्त गरे ।
स्थानीय कैली देवी यादवले खोलामा माटो पुरेर गाउँबस्ती नै डुवानमा पर्ने जोखिमबाट बचाउन अगुवाई गरेको भन्दै वडाध्यक्ष तेज नारायण यादवको प्रशंसा गरिन ।’ ढिलै भएपनि पीडितलाई न्याय दिन र सत्यको पक्षमा वडा अध्यक्षको साथ सहयोग पायौं’ उनले भनिन्,’ उहाँको यो साथसहयोगले हामी सबै प्रशन्न भएको छौँ। सत्यको पक्षमा सधै उभिने र पीडितलाई न्याय दिने कार्यमा आगामी दिनमा समेत वडाध्यक्षको भुमिकाको अपेक्षा गर्छौ ।’
स्थानीयले खोला खोल्नका लागि कारबाही अगाडि बढाइदिन एक महिना अगाडि देखि सम्बन्धित निकायमा धाउँदा समेत सुनुवाइ भएको थिएन ।
‘बेल्हामा खोला थुन्दा दर्जनौं घर डुवानको जोखिममा : संलग्न सामु राज्य निरीह’ शिर्षकमा न्यूज टुडे दैनिकमा समाचार, प्रकाशन प्रसारण भएको २४ घण्टा नवित्दै पुरीएको खोला खोलिएको थियो । न्यूज टुडेमा समाचार प्रकाशित भएपछि चौतर्फी दवाव बढेको स्थानीयले बताए ।
वडा, गाउँपालिका, प्रहरी प्रशासन तथा संघीय सरकारसम्म खोला थुन्नेहरुकै पहुँच र प्रभाव हुँदा हामी निमुखाले न्याय पाउन नसकेको स्थानीयले गुनासो गर्दै आएका थिए । खोला थुनिदा स्थानीय रामप्रसाद यादव, कैलीदेवी यादव,राम कुमारी यादव,महिम यादवको घर बढी डुवानको जोखिम परेको थियो ।
सार्वजनिक खोलामा माटो पुरेको र हटाईदिन इलाका प्रहरी कार्यालय महुलीमा २०८३ जेठ २७ गते, अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा जेठ २८ गते निवेदन दर्ता गराउँदा सुनुवाइ नभएपछि २०८३ असार ९ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा उनीहरुले निवेदन दिएका थिए ।
जिल्ला प्रशासन कार्यालयबाट तत्काल खोला खुलाउन तथा संलग्नमाथि कारबाहीको लागि लेखी पठाउन भनी गाउँपालिकालाई असार ९ गते पत्राचार गर्दा पनि टेरपुछर लागेको थिएन ।
बर्षाले छोपेसंगै बाढीको विपद जोखिम बढेकोले पुन: असार २६ गते स्थानीयबासी डेलिगेशन गएपछि जिल्ला प्रशासन कार्यालयले निवेदकको माग दावी बमोजिम हालसम्म कुनै कारबाही हुन नआएको हुनाले आवश्यक कारबाही गरी सो समेतको जानकारी यस कार्यालयमा उपलब्ध गराउनु भनी ताकेता गरेको थियो।
युगौयुग?देखि बग्दै आएको सार्वजनिक खोलामा माटो पुरी पानीको बहाव रोक्ने कार्यमा संलग्न व्यक्तिमाथि कारबाही गरि निकास खोज्नु भन्दा सत्ता, शक्ति र सम्पत्तिको अगाडि निरीह राज्यको शक्तिहरु अन्ततः चौतर्फी दवाव पछि गलेको स्थानीयले बताएका छन् ।