मधेस प्रदेशकी श्रम तथा यातायात मन्त्री सारदा देवी थापाले संघीयताका कारण पछाडि परेका बर्ग र समुदाय विस्तारै अधिकार सम्पन्न हुँदै गएको भन्दै हामी सबैले संघीयतालाई बचाउनु पर्नेमा जोड दिएकी छिन् । मिडिया काउन्सिल मधेस प्रदेशद्वारा महोत्तरीको बर्दिवासमा सोमबार आयोजित आचारसंहिताको प्रभावकारी कार्यान्वयन पालनाको लागि पत्रकार महासंघका प्रमुख तथा प्रतिनिधिसंग छलफल र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जोड दिएकी हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै श्रम तथा यातायात मन्त्री सारदा देवी थापा । फोटो : न्यूज टुडे
कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले देश विकास र सामाजिक रुपान्तरणका लागि संघीयता अपरिहार्य रहेको बताइन् ।
पछाडि पारिएका बर्ग,लिंग र समुदायले विस्तारै अधिकार प्राप्त गर्दै आएकोले यस उपलब्धिलाई संस्थागत गर्न महत्त्वपूर्ण उपलब्धि पनि संघीयताकै कारणले सम्भव भएको उनले जिकिर गरिन । संघीयता विनाको विकास, समृद्धि र अधिकार कल्पना पनि गर्न नसकिने उल्लेख गर्दै उनले देश र जनताको हितको लागि हामी सबै मिलेर संघीयता बचाउनु पर्नेमा जोड दिइन् । मन्त्री थापाले देश र समाजको समग्र क्षेत्रमा अहिले भएको परिबर्तन संघीयताकै बलमा आएको दावी गरिन ।
पत्रकार कसैको प्रयोग गर्ने साधन हुन नहुने भन्दै उनले न्याय र अन्याय छुट्याएर निष्पक्ष, मर्यादित, र विश्वासनीय पत्रकारिता जोड दिइन् । पत्रकारहरुले राष्ट्र र समाजको लागि गरेको योगदानको चर्चा गर्दै मन्त्री थापाले आफू पदमा हुँदा वा नहुँदा पनि पत्रकारहरुको हकहितमा सधै आवाज उठाइ रहने प्रतिबद्धता समेत व्यक्त गरिन ।
मिडिया काउन्सिल मधेस प्रदेशकी कार्यबाहक अध्यक्ष बन्दना कुमारी झाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब अशोक तिवारी, लेखा समिती संयोजक केसी लामिछाने, केन्द्रीय सदस्य राजेश कुमार कर्ण,सिकेन्द्र पासवान,राजु विश्वकर्मा,राजकरण मेहताले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसैगरी नेपाल पत्रकार महासंघ मधेस प्रदेश समिति अध्यक्ष श्याम बन्जरा, महोत्तरी शाखा अध्यक्ष महेश दास, बारा अध्यक्ष रमेश सुवेदी,पर्सा अध्यक्ष ओम प्रकाश खनाललगायतले समेत शुभकामना मन्तव्य व्यक्त गरे ।
मिडिया काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश कटवाल र बोर्ड सदस्य रिङ्कु मिश्र ( गायत्री)द्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा स्वागत काउन्सिलका सदस्य मनु कुमार पासवानले गरे ।
मधेस प्रदेश अन्तर्गतका केन्द्रिय पदाधिकारी तथा सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य जिल्ला पदाधिकारी सहभागी छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब अशोक तिवारी, केन्द्रीय सदस्य राजेश कुमार कर्ण, राजु विश्वकर्मा, महोत्तरी अध्यक्ष महेश दासले सम्बन्धित विषय बस्तु समेटिएको कार्य पत्र प्रस्तुत गरेका थिए ।