न्यूज टुडे
राजविराज,२८ असार ।
छिमेकीको कुटाइबाट सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ६ बभनगामाकी एक ७५ बर्षीय महिला गम्भीर घाइते भएकी छन् । छिमेकी अन्दाजी ३५ बर्षिय वैजनाथ यादव ( धुनु)ले आपसी विवादमा कुटपिट गरि सोही ठाउँकी ७५ बर्षीय उमदा देवी यादव गम्भीर घाइते भएकी हुन् ।
कुटपिटबाट अचेल भएकी घाइते बृद्वाको तत्कालै परिवारले उद्वार गरि अस्पताल लगिएको छ । घाइते महिलाको राजविराज स्थिति गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको तथा स्वास्थ्य अवस्था गम्भीर रहेको छोरा रामनाथ यादवले बताए ।
उनका अनुसार घरनजिकै धानखेतमा विहान ८ बजे पानी हेर्न पुगेकी यादवलाई पानीको निहँमा विवाद हुँदा बैजनाथ यादव र उनको बुवा समेतले कुटपिट गरेको थियोे ।
वैजनाथले पानी खोलेर हाम्रो खेतमा लगाएपछि त्यसो नगर्न भन्दा आमालाई पानीमा टाउको डुवाउँदै कुटपिट गरि बेहोस बनाएको रामनाथले बताए । झगडा भयो भनी हल्ला भएपछि आमा पानीमा ढलेको देखेपछि बचाउन जाँदा आफुलाई समेत चारपाँच मुक्का हानेको उनले जानकारी दिए ।
अचेत अवस्था पानीमा ढलेको आमालाई तत्कालै उपचारका लागि राजविराज ल्याइएको उनले जानकारी दिए । आमाको अझै होस आइनसकेको भन्दै उनले कुटपिटमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाउन र आमाको औषधि उपचार खर्च भराउन उनले प्रहरी प्रशासनसंग आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता डिएसपी हेमराज घिमिरेले घटना बारे अनुसन्धान गरीरहेको तथा कुटपिटमा संलग्न व्यक्तिको खोजी भइरहेको बताए ।
यसबारे बैजनाथ संग मोबाइलमा फोन गरी बुझ्न खोज्दा मोबाइल स्वीच आफ थियो ।