• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बेल्हामा खोला थुन्दा दर्जनौं घर डुवानको जोखिममा : संलग्नहरु सामु राज्य निरीह 

बेल्हामा खोला थुन्दा दर्जनौं घर डुवानको जोखिममा : संलग्नहरु सामु राज्य निरीह 
न्यूज टुडे
राजविराज,२८ असार ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ स्थित बेल्हामा भलुवाही खोला थुन्दा दर्जनौं घर डुवानको जोखिममा परेको छ । स्थानीय रामी यादव, अशोक चौधरी, सुरेन्द्र चौधरी, भोला भन्ने अनिल यादवलगायतका समूहले पानीको बहाव रोकिने गरि खोलामा माटो पुरेको हो ।
खोलामा माटो पुरेर गाउँबस्ती नै डुवानमा पर्ने जोखिम भएकाले खोल्नका लागि कारबाही अगाडि बढाइदिन एक महिना अगाडि देखि  सम्बन्धित निकायमा धाउँदा समेत सुनुवाइ नभएको स्थानीयको गुनासो छ । संलग्न व्यक्तिहरुले सात्ता, शक्ति र पैसाको आडमा धाकधम्की दिने जस्ता अवाञ्छित गतिविधि गरि समस्या समाधान भन्दा थप पीडा दिने गरेको स्थानीय कैलीदेवी यादवले बताइन् । 
वडा, गाउँपालिका, प्रहरी प्रशासन तथा संघीय सरकारसम्म उनीहरुकै पहुँच र प्रभाव हुँदा  हामी निमुखाले न्याय पाउन नसकेको उनको भनाइ छ।
‘संलग्न व्यक्तिहरुले दुबैतर्फबाट पावर लगाएको छ, हामी जस्ता सर्वसाधारणको कुरा कसरी सुनुवाइ हुन्छ’ उनले भनिन्,” स्थानीय सरकारमा काँग्रेस र संघमा रास्वपा दुबै सरकारमा उनीहरुकै हाकडाक चल्छ ।’
रामी यादव, अनिल यादव गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरी र वडा नम्बर ४ का वडाध्यक्ष एवम् गाउँपालिका प्रबक्ता तेज नारायण यादव (महेश) निकट हुन् भने  अशोक चौधरी रास्वपा गाउँपालिका सभापति प्रमोद चौधरीको आफ्नै भाइ रहेको स्थानीयले जनाएका छन् ।
 वडा अध्यक्ष यादवले समस्या समाधान भन्दा तिमीहरुले भन्दैमा कुनै प्रहरी प्रशासन आउँदै, कुनै बाउँले काम दिदैन’ भनी गाउँभरी होच्याउने व्यवहार गरेको उनको आरोप छ । 
रास्वपा गाउँपालिका सभापति चौधरी २० दिन अगाडि अन्दाजी राती साढे ९ बजे घरमा आएर समस्या बुझ्नु खोज्दा सकारात्मक रुपमा लिएको थिएँ भन्दै यादवले उनको व्यवहारले थप यातना र असुरक्षित महसुस गरि सम्बन्धित निकायमा शान्तिसुरक्षाको निवेदन दिँदा कुनै चासो नदिएको भन्दै आक्रोश पोखिन । उनले पार्टी प्रतिनिधि र जनप्रतिनिधिहरुले कुरा सुन्नु भन्दा  पनि रुखो व्यवहार गरेको भन्दै दुखेसो पोखिन । 
स्थानीय रामप्रसाद यादवले आफूहरूलाई दुख दिने नियतबस  अनावश्यक रुपमा सार्वजनिक खोलामा माटो लगाएर थुनेको बताए । उनले आफूसहित कैलीदेवी यादव,राम कुमारी यादव,महिम यादवको घर बढी डुवानको जोखिम परेको जानकारी दिए । 
सार्वजनिक खोलामा माटो पुरेको र हटाईदिन इलाका प्रहरी कार्यालय महुलीमा २०८३ जेठ २७ गते, अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा जेठ २८ गते निवेदन दर्ता गराउँदा सुनुवाइ नभएपछि २०८३ असार ९ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन गरेको जानकारी गराउँदै जिल्ला प्रशासन कार्यालयबाट तत्काल खोला खुलाउन तथा संलग्नमाथि कारबाहीको लागि लेखी पठाउन भनी गाउँपालिकालाई पत्राचार गर्दा पनि टेरपुछर नलागेको बताए ।
बर्षाले छोपेसंगै बाढीको विपद जोखिम बढेकोले पुन:  असार २६ गते जिल्ला प्रशासन कार्यालयबाट गाउँपालिका कार्यालय र वडा नम्बर ४ लाई पत्राचार गरेको पत्र देखाउँदै उनले निवेदकको माग दावी बमोजिम हालसम्म कुनै कारबाही हुन नआएको हुनाले आवश्यक कारबाही गरी सो समेतको जानकारी यस कार्यालयमा उपलब्ध गराउनु भनी ताकेता गरेको बताए । 
जिल्ला प्रशासन कार्यालयबाट प्राप्त पत्र गाउँपालिका र वडा कार्यालयमा बुझाउँदा वडा अध्यक्ष यादवले पटकपटक डोजर ल्याएर खुलाउने आश्वासन मात्र दिने गरेको स्थानीयले बताए । 
खोलाको पुरेको निकास खोल्न लगाउने र पुर्नेलाई कारबाहीको लागि लेखी पठाउने भनी यस अघि असार ९ गते गाउँपालिका कार्यालय तथा वडा कार्यालयलाई जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको प्रति धन्यवाद व्यक्त गर्दै यादवले  सिडियो कार्यालयको पत्र कार्यान्वयन हुनेमा अझै विश्ववत रहेको बताए । 
उनले खोलाको पानी निकास गरि डुवानको जोखिमबाट बचाउन  गाउँपालिका, वडा कार्यालय, प्रशासन, नागरिक समाज तथा सरोकारवालाहरुलाई आग्रह समेत गरे । 
अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष एवम् गाउँपालिका प्रबक्ता तेज नारायण यादवले स्थानीयले आफूमाथि लगाएको आरोप निरधार रहेको भन्दै बेल्हामा सार्वजनिक खोला थुनिएको स्वीकार गर्दै अविलम्ब खोल्ने बताए । 
‘त्याहाँ केही व्यक्तिबाट बदमासी भएको छ, सार्वजनिक खोलामा माटो पुरेर बाढीको निकास बन्द भएको छ । त्यो हुन नहुने हो’ उनले भने, ‘अहिले गाउँपालिकाको डोजर हुलाकी सडकमा पर्ने खोलाको पुलमाथिबाट आवतजावतका लागि काम हुदैछ । यहाँबाट सिधै डोजर ल्याएर पुरीएको माटो हटाउँछु ।’
सार्वजनिक खोलाको माटो पुर्ने मध्यका मुख्य आरोपी रामी यादवसंग यस बारे जानकारी लिने प्रयास गर्दा सम्पर्कमा आउन चाहेन । 
पुस्तौंदेखि बग्दै आएको सार्वजनिक खोलामा माटो पुरी पानीको बहावमा रोक्ने कार्यमा संलग्न व्यक्तिमाथि कारबाही गरि निकास खोज्नु भन्दा सत्ता, शक्ति र सम्पत्तिको अगाडि राज्यका निकायहरु समेत निरीह देखिएको यस घटनाले पुष्टि गरेको छ ।