राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन्द्र साहले झुक्याएर भोट लिएर धोखा दिएको आरोप लगाउँदै मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालले कठोर आन्दोलन सुरु गरेको छ । प्रधानमन्त्री शाहले चुनावको समयमा पहिलो सम्बोधन गरेको स्थान धनुषाको जनकपुर स्थित तिरुहुतिया गाछीबाट बिहीबार मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालले काठमाडौसम्म पैदल न्याय मार्च घोषणा गरेको हो ।
कपाली तमसुक खारेजीको माग सार्दै तमसुकमा आगो लगाएर विरोध जनाउँदै मिटर व्याज पीडितहरु । फोटो : न्यूज टुडे
मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रिय अध्यक्ष अबधेश कुशवाहाले मसाल बालेर आन्दोलनको सुरुवात गरे।
आन्दोलन घोषणा गर्दै अध्यक्ष कुशवाहाले प्रधानमन्त्री शाहले चुनावको समयमा जनकपुरको तिरुहुतिया गाछीमा पहिलो सम्बोधनको क्रममा दिएको आश्वासनको स्मरण गराए । सरकारको नेतृत्व गर्नेको बोलीको ठेगान नहुनु देशकै लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै उनले प्रधानमन्त्रीले चुनावमा जनता माझ गरेको प्रतिबद्धता पुरा गर्नुपर्नेमा जोड दिए ।
‘हमरा अहां सव भोट दियो हम मधेसी क छौरा चिय मधेस क शोषित पीडित जनता क समस्या पुरा करव मिटर ब्याजी समस्या हम पूरा करव’ प्रधानमन्त्री शाहले चुनावमा बोलेको कुरा स्मरण गराउँदै अध्यक्ष कुशवाहाले भने, “न्यायिक अधिकार सम्पन्न आयोग बनाएर सबधान गर्छु।’ भनेर विश्वास जीतेका थिए तर मीटर व्याज पीडितले थप यातना पाएको छ । बोलीको ठेगान नभएको प्रधानमन्त्रीलाई कसरी विश्वास गर्न सकिन्छ।’
प्रधानमन्त्री शाह नेतृत्वको सय दिनको कार्यक्रम घोषणामा मिटर व्याज पीडितको माग सम्बन्धमा केही नबोलेको तथा सरकारको सय दिनको अवधिमा झनै दमनको नीति लिएको चर्चा गर्दै उनले झुठो आश्वासन बाँडेर प्रधानमन्त्री शाहले मधेसका जनताको जनमतको अवमूल्यन गरेको भन्दै आक्रोश पोखे ।
‘हामीले सय दिनको समय हेर्यौ, त्यस कारणले प्रधानमन्त्री शाहले झुठो उद्घोष गरेको ठाउँबाट नै आन्दोलन सुरु गर्यौ, जनकपुर देखि काठमाडौ सम्म न्याय पैदल मार्च आन्दोलन गर्न बाध्य भएका छौँ’ उनले भने, ‘बालेनलाई मधेसबाट नसोचेको भोट दिएर अधिक ३२ सिटमा ३० सिट दियौ तर त्यसको बदलामा हामीलाई झन पीडित बनायो, बालेनको अदालतले पीडितलाई जेल हाल्ने काम गरिदैछ।’
उनले अवको आन्दोलन अन्तिम र निर्णायक रहेकोले सरकारलाई घोडा टेक्न बाध्य पार्ने उद्घोष समेत गरे ।
‘हाम्रो आन्दोलन वारपारको लडाइमा होमिएको छ, मागपुरा नभएसम्म आन्दोलन जारी रहने छ।’ उनले भने, ‘त्यति मात्रै होइन बालेनको घर मधेस देखि सिंहदरवारको कुर्सी सम्म यो आन्दोलन हुनेछ।’
आन्दोलन उद्घोष सभालाई केन्द्रिय प्रवक्ता एवम् बितिय संस्थाका अध्यक्ष नीर नवीन ,मिटर ब्याज पीडितका केन्द्रिय सल्लाहकारहरु सरस्वती वाग्ले रामरिझन यादव, पुष्कर गौतम, बेचन चौधरी, रमेश सेन्चुरी लगायतले सम्बोधन गरे ।
उक्त सभामा तमसुक कपाली व्यवस्थाको खारेजीको माग सार्दै तमसुक समेत जलाएको थियो ।
‘कपाली तमसुक कारेज गर, अदालतको फैसला मान्दैनौ, हाम्रो आन्दोलन जारी छ, मिटर ब्याजी साहुलाई कारबाही गर ,सुदखोरको सम्पत्ति छानबिन गर, पीडितको जग्गा फिर्ता गर, हाम्रो माग पूरा गर’ लगायतको चर्को नारा लगाउँदै तिरहुतीया गाछीबाट बेलुका ४:३० बजे सुरु भएको पैदल न्याय मार्च राती ११ बजे धनुषाको महेन्द्रनगर पुगेको सप्तरी इन्चार्ज मो. तैयवले जानकारी दिए ।
पैतिस जिल्लाका पीडितहरुको सहभागिता रहेको पैदल न्याय मार्चको ब्यबस्थापनको जिम्मा सर्मी फोर्सलाई तोकिएको केन्द्रिय प्रवक्ता नीर नवीनले बताए ।
आन्दोलन घोषणा सभाको संचालन केन्द्रिय महासचिव मनोज पासवानले गरेका थिए ।