उत्तम आचार्य
कन्चनरुप , २५ असार ।
प्रतिनिधिसभा सदस्य खगेन्द्र कर्णले सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिकाका जंगली हात्ती पीडितको समस्या उठाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको विषेश समयमा बोल्दै उनले सप्तरीको मोहनपुर लगायतका क्षेत्रमा हात्तीले पुर्याएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।
सभामुखसँग विशेष समय माग गर्दै सांसद कर्णले अग्नीसाइर कृष्णसवरण वडा नम्बर ६, महुली मोहनपुरसहितका सप्तरीको उत्तरी भेगका बस्तीमा दर्जनौँको संख्यामा आएका जंगली हात्तीले जनधनको ठुलो क्षति गरेको बताए ।
गाउँ पसेका हात्तीको समुहले स्थानीय सर्वसाधारण कमान सिं मगर र सोनाइ मेहताको घर पूर्ण रूपमा भत्काएको जानकारी गराउँदै उनले यसका साथै हात्तीको बथानले स्थानीय किसानहरूले करिब सय बिघा क्षेत्रफलमा लगाएको अन्नबाली समेत कुल्चिएर र खाएर नष्ट गरेको जानकारी गराए । बस्तीमा हात्ती पसेपछि स्थानीय बासिन्दा रातभर त्रसित र असुरक्षित बन्न पुगेका भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद कर्णले जंगली वन्यजन्तुको यस्तो आतंकबाट स्थानीय जनतालाई सुरक्षा दिन, घर भत्किएका कमान सिं र सोनाइ लगायतका अन्य परिवारलाई तत्काल उचित बासस्थान, राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे।
न्यूज टुडे दैनिकमा सप्तरीको महुली मोहनपुरमा जंगली हात्तीको वितण्डा शिर्षकमा समाचार सार्वजनिक भएलगत्तै सांसद कर्णले सरकारको ध्यानाकर्षण गराएका छन् ।
अहिले पनि २२ वटा हात्तीको बथान वडा नम्बर १ स्थित बहिराचाँप सुकुम्बासी बस्ती पसेर घर तोडफोड, खाद्यान्न, अन्नवाली खाने गरेका कारण स्थानीय चिन्तित बनेका छन् ।