• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

संघीयताको उपलब्धि :  स्थानीय सरकार तत्कालै पीडितको घरमा

संघीयताको उपलब्धि :  स्थानीय सरकार तत्कालै पीडितको घरमा
उत्तम आचार्य 
कन्चनरुप , २५ असार ।
समस्यामा परेका नागरिकका लागि स्थानीय सरकार तत्काल सारथी बनेर पुग्ने गरेको छ। संघीय शासन व्यवस्था अनुसार तल्लो तहको स्थानीय सरकारको  अनुभुति पीडितले तत्कालै गर्न पाएको हो । 
 गएराति जङ्गली हात्तीले घर भत्काएर आतङ्क मच्चाएपछि अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी र वडा अध्यक्ष अशोक कुमार आचार्य पीडित परिवारलाई राहत दिन र मलमपट्टी लगाउन उनीहरूकै घरदैलोमा पुगेका छन् । 
तर, आफ्नै निर्वाचन क्षेत्रमा जङ्गली जनावरले यसरी आतङ्क मच्चाउँदा र नागरिक त्रसित हुँदा पनि प्रत्यक्ष निर्वाचित सङ्घीय तथा प्रदेश सांसदहरू भने मौन निद्रामा देखिएका छन्। विगतका दिनहरूमा समेत जङ्गली हात्तीको आक्रमणबाट स्थानीयले ज्यान गुमाउँदा स्थानीय सरकार मात्र संवेदना बोकेर आएको थियो। त्यतिबेला पनि सङ्घीय र प्रदेश सांसदहरूले मृतक परिवारप्रति सहानुभूति प्रकट गर्न एउटा शब्दसम्म खर्चिएनन्।
यसै विषयलाई लिएर आक्रोशित स्थानीयवासीले “एकपल्ट नयाँलाई हेरौँ” भन्दै भोट दिएका नयाँ दल वा जनप्रतिनिधिहरू न मर्दाका मलामी, न बाँच्दाका जन्ती बन्ने रहेछन् भन्दै गम्भीर प्रश्न उठाएका छन्। “हामी मतदाताले नयाँ भनेर जिताएकाहरू कता हराए?” भनी स्थानीयले गुनासो पोखेका छन्।
सोमबार राति दर्जनौँको सङ्ख्यामा आएको जङ्गली हात्तीको हुल गाउँमा पसेर सप्तरीको मोहनपुरका कमान सिंह मगर र सोनाई मेहताको घर भत्काइदिएको थियो।
 हात्तीको हुलले घरभित्र भण्डारण गरिएको अन्नपात खानुका साथै दर्जनौँ किसानको भित्र्याउन लागेको मकै र रोप्नका लागि तयारी अवस्थामा राखिएको धानको बीउ खाएर तथा कुल्चेर ठुलो नोक्सानी पुर्‍याएको छ।
यसैगरी वडा नम्बर १ स्थित बेहराचाँप सुकुम्बासी बस्तीमा समेत हात्तीको समुहले घर तथा घरका टाटी, झ्याल तोडफोड गरेका छन् ।  दैनिक हात्तीले दु:ख दिने र जोखिमपूर्ण जीवनयापन विताउन बाध्य हुँदा समेत नियन्त्रणका लागि पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको पीडित सुकुम्बासीहरुको गुनासो छ । 
 वन्यजन्तुको यस्तो आतङ्क रोक्न र दीर्घकालीन समाधान खोज्न माथिल्लो तहका जनप्रतिनिधिले चासो नदेखाउँदा स्थानीयमा आक्रोश बढेको छ।