न्यूज टुडे
राजविराज,२५ असार ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ बेहरचाँप स्थित सुकुम्बासी बस्तीमा एक हप्तादेखि जारी हात्ती आतंकले स्थानीयबासी त्रसित भएका छन् । दर्जनौंको संख्यामा आएको जंगली हात्तीको समुहले गाउँ पसेर विध्वंस मच्चाउन थालेपछि स्थानीयबासी त्रसित भएका हुन् ।
नजिकै रहेको वन क्षेत्र भित्र दिनभर बस्ने र साँझ पर्नसाथ गाउँपसेर घर भत्काउने, अन्नपात खाईदिने, बालीनाली नष्ट गर्न तथा घर तोडफोड गरी आतंक मच्चाउने गरेको स्थानीयले बताए ।
दिनभरी बनीबुतो गरेर कमाएर ल्याएको खानेकुरा समेत चैनसंग खाएर सुत्न नपाएको स्थानीय मुकुन्ती कुमारी सरदारले दुखेसो सुनाइन् । हात्तीले आतंक मच्चाउन थालेको बारे स्थानीय सरकार र प्रहरीलाई जानकारी गराउँदा सुनुवाइ नभएको पीडितहरुले गुनासो गरे ।
‘बनीबुतो गरेर ल्याएको धान चामल, मकै, सबै हात्तीले खाएर सकिदियो, बालबच्चालाई के खुवाउनु’ स्थानीय सहदेव सदाले भनिन् :- भोकभोकै बसेर भएपनि रात कटाउँला तर कतिबेला मरिने हो भन्ने चिन्ताले थप पीडा थपिएको छ ।’
स्थानीय मोहन मगरले हात्तीको त्रासले रातभर जाग्रामबसी गाउँको सुरक्षा गर्न गाउँबासी नै खटिदा पनि एकसातादेखि निरन्तर हात्ती बस्ती पसेर घरको टाटी, झ्याल तोडफोड गरिराखेको बताए । नजिकै रहेको बन क्षेत्रमा दिनभरी बस्ने २२ वटाबढी हात्तीको समुह गाउँबस्तीमा पसेर विध्वंस मच्चाउने गरेको उनले जानकारी दिए ।
हात्ती आतंकले जोखिमपूर्ण जीवनयापन गर्दा समेत सुरक्षाका लागि कुनैपनि निकायले चासो नदिएको स्थानीयको बताउछन् । हामीले खेपिरहेका पीडा बारे सरोकारवाला निकाय बेखबर जस्तै देखिएको उनीहरुको भनाइ छ ।
हात्तीले सुकुम्बासी बस्तीमा पारेको समस्याको बारे जानकारी लिदै अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ निवासी रोशन कुमार मण्डरले समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए । विजुलीको पोलमा बत्ती, ठू-ठूल्ठूला प्रकाश दिने अन्य बत्ती, बाटोको सुविधा तथा बस्ती वरिपरि हात्ती तर्साउने नाङ्गो तरबारको तत्काल व्यवस्था गरि गाउँलाई तत्काल सुरक्षित गर्न उनले स्थानीय सरकार तथा सरोकारवालाहरुलाई सुझाव दिए ।
उनले हात्ती पीडित सुकुम्बासीहरुलाई खाद्यान्नसहित अन्य हात्ती धपाउन प्रयोग हुने टर्चलाइट जस्ता उपकरणको व्यवस्था गरिदिन सरकारसंग आग्रह गरे ।
स्थानीयका अनुसार छोटकू सदा,सशिन्द्र सरदार,मकुन्ती कुमारी सरदार,ललकू सरदार,सुष्मा सरदार,गल्ठी सरदार ,सुखी सरदार, मोहन मगर,सहदेव सदा,राम सदा, विजुली सदा,राजु सदा, देवन्ती देवी चौधरी,लालूमाया नेपाली लगायतका दर्जनबढी घरपरिवारको घरको झ्याल, भान्साघर,टाटी तोडफोड गरेको छ ।
महुली सामुदायिक विकास केन्द्र, अग्नीसाइर कृष्णासवरन गाउँपालिका र ह्यावी ट्याट फोर ह्युमानिटी नेपालको संयुक्त सहयोगमा व्यवस्थित रुपमा उक्त सुकुम्बासीबस्ती बसाइएको थियो ।
पछिल्लो एक बर्ष यता निरन्तर हात्ती आतंकले उक्त बस्तीका बासिन्दाको ज्यान जोखिममा छन् भने उनीहरू विस्थापित हुने खतरा बढेको छ ।