उत्तम आचार्य
कञ्चनरूप, २३ असार ।
सप्तरीको अग्नीसाइर कृष्णसंवरन गाउँपालिका वडा नमूना ६, महुली मोहनपुरमा जंगली हात्तीको बथानले ठूलो क्षति पुर्याएको छ । सोमबार राति १० बजे गाउँको बीचमा छिरेको दर्जनौँ हात्तीको समुहले अन्नबाली कुल्चिएर नष्ट गरेको हो ।
हात्तीको हुलले बिहान ३ बजेसम्म लगातार ५ घण्टा ताण्डव मच्चाउँदै कृषकहरूले भित्र्याउन तयारी अवस्थामा राखेको मकै खेती र रोप्नका लागि तयार पारिएको धानको बीउ (ब्याड) पूर्ण रूपमा नष्ट गरेको पीडित किसानहरुले बताए । एकैसाथ ठूलो सङ्ख्यामा आएका हात्तीको हुलले गाउँको बीचमै आएर आतङ्क मच्चाएपछि स्थानीयबासी त्रसित बनेका थिए । वर्षभरी खाने अन्नबाली थन्क्याउने बेलामा जंगली जनावरले सखाप पारिदिएपछि स्थानीय कृषकहरू यतिबेला गहिरो चिन्तामा डुबेका छन् ।
यस क्षेत्रका किसानहरूले विगत ३५ वर्षदेखि निरन्तर जंगली जनावरको आतंक खेप्दै आएका छन् । बर्षेणी जनधनको ठूलो क्षति ब्यहोर्नु परे पनि राज्यका सरोकारवाला निकायबाट अहिलेसम्म कुनै ठोस पहल नभएको भन्दै स्थानीयबासीले आक्रोश व्यक्त गरे ।
मोहनपुरका स्थानीय किसान दिपेन्द्र आचार्यका अनुसार जंगली जनावरका कारण यो क्षेत्रका सर्वसाधारण ठूलो मर्कामा छन् ।”यस क्षेत्रमा बर्षेणी सयौं बिघाको अन्नबाली जंगली जनावरले नष्ट गर्दै आएको छ, उनले भने, “वर्षभरीको मिहिनेत एकै रातमा सखाप हुँदा किसानको ढाड सेकिएको छ ।”
अग्नीसाइर कृष्णसंवरन ६ मोहनपुरका अर्का किसान प्रदिप आचार्यले, हामी जंगली जनावरको चेपुवामा परेर सधैं पीडित छौ भन्दै दुख व्यक्त गरे। ‘जिउधनको यत्रो क्षति हुँदा समेत नियन्त्रणका लागि सरोकारवाला निकायले आँखा चिम्लेर बसेको छ ।” उनले भने
“अब यही अवस्था रहिरहने हो भने यो ठाउँबाट सिङ्गो बस्ती नै विस्थापित हुने खतरा बढेको छ’ स्थानीय दुर्गा भट्टराईले भने, ‘सरकार गठन भएको थोरै दिन मात्र भयो भनेर पन्छिने बाहना कसैले नगरोस्, हामीलाई तत्कालै राहत र दीर्घकालीन सुरक्षा चाहिन्छ ।”
यतिबेला माननीय गृहमन्त्री झापाको बाहुनडाँगी क्षेत्रमा हात्ती नियन्त्रणको स्थलगत निरीक्षणमा रहेको प्रसंगलाई जोड्दै उनीहरुले गृहमन्त्रीको ध्यान आफूहरूतिर पनि खिचिनुपर्ने माग गरेका छन् । स्थानीयले झापामा जस्तै सप्तरीको महुली मोहनपुर क्षेत्रमा पनि तत्काल स्थलगत अनुगमन गरी हात्ती नियन्त्रणका लागि दीर्घकालीन उपाय निकाल्न जोडदार माग गरिएको छ ।
स्थानीयबासीहरूले गृहमन्त्रीसँग सिधै सम्पर्कमा रहेका यस वडा तथा पालिकाका स्थानीय नेताहरू, सम्बन्धित सरकारी निकाय र जनप्रतिनिधिहरूलाई तत्कालै आवश्यक कदम चाल्न अनुरोध गरेका छन् ।
दर्जनौँ हात्ती एकैपटक बस्तीमा पसेर आतंक मच्चाएपछि सिङ्गो गाउँ नै संकटमा परेको छ । स्थानीयले काठमाडौँमा बसोबास गर्ने तथा सरकारका मन्त्री, प्रधानमन्त्री, संसद्, राष्ट्रिय सञ्चारमाध्यम र सरोकारवाला सबैसँग पहुँच भएका सम्पूर्ण साथीभाइ, मिडियाकर्मी एवं युट्युबरहरूलाई यो विषयलाई गम्भीरतापूर्वक उठाइदिन आग्रह समेत गरेका छन् ।
सम्बन्धित निकायसम्म दबाब पुर्याएर महुली मोहनपुरको सिङ्गो बस्तीलाई विस्थापित हुनबाट जोगाइदिन उनीहरूले विशेष अनुरोध गरेका छन् । अबिलम्ब सरकारी निकायको ध्यान नगए र जंगली हात्तीको आतंक कायम रहीराखे सशक्त आन्दोलनमा उत्रन बाध्य हुने स्थानीयले चेतावनी समेत दिएका छन् ।