पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएको एक साता भईसक्दा पनि सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडा समायोजन गरेको छैन ।
तेलको मूल्य बढेका समयमा यातायात तथा ढुवानीको भाडा बढाईएको भए पनि अहिले घटेको समयमा समायोजन तर्फ चासो नलिँदा यात्रुदेखि आम उपभोक्ता समेत महँगीको मार खेप्न बाध्य पारिएका छन् । ढुवानी भाडा बढेपछि हरेक जसो उपभोग्य वस्तुदेखि निर्माण सामग्री समेतमा मूल्यबृद्धि भएको छ । यस्तै सार्वजनिक यातायातको भाडा बढेपछि अहिलेसम्म त्यही कायम रहँदा यात्रुवर्गमाथि आर्थिक भार थपिएको थपियै छ । भविष्यमा तेलको मूल्य बढ्यो भने भाडा बढाउन उद्दत रहने तर घटेको समयमा चाहिँ नघटाउने भनेको यो एक प्रकारले उपभोक्ता तथा सेवाग्राही प्रतिको अन्याय नै हो भन्दा अन्यथा नहोला । बढेको भाडा तेलको मूल्य घटेपछि घटाउनु पर्ने कुरा सामान्य नै हो । डिजलको मूल्य प्रति लिटर तीस रुपियाँले घट्दा पनि भाडा नघटाउने हो भने अव कहिले घटाउने ? जनताले सोध्ने प्रश्न हो यो । तेलको मूल्य बढेका समयमा भाडा नबढाउँदा यातायात तथा ढुवानी व्यवसायीलाई मर्का पर्छ भने घटेका समयमा भाडा नघटाउँदा ती व्यवसायीलाई त कमाउने मौका नै मिल्दो हो । तर यसबाट अधिकांश आम जनताको ढाड चाहिँ सेकिन्छ भन्ने कुरालाई मनन गर्न आवश्यक छ ।
त्यसैले भाडा समायोजनमा आलटाल गर्ने परिपाटीले समस्याको समाधान त निस्कन्न नै । उल्टै यसबाट जनतामाथि महँगीको मार कायम रहनेमा चाहिँ कुनै शंका मान्नु नपर्ला ।