न्यूज टुडे
राजविराज,२२ असार ।
सप्तरीका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका कार्यालय प्रमुख रामपवित्र दास र सवारी चालक भोगेन्द्र यादव अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीमा सोमबार छापामारी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
भ्याक्सिनेटर घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
पशुचौपाया र बाख्राहरूमा लाग्ने महामारी जन्य रोग विरुद्ध लगाइने पीपीआर खोप लगाउन नियुक्ति गरेका भ्याक्सिनेटरसँग भुक्तानीका लागि २० देखि २५ प्रतिशतसम्म रकम प्रति व्यक्ति घुस मागेको उनीहरुमाथि आरोप छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले उनीहरूलाई अख्तियारको टोलीले कार्यालयबाटै नियन्त्रणमा लिएको जानकारी आफूले पाएको बताए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीले भ्याक्सिनेटरहरूलाई भ्याक्सिन लगाएवापत प्रति बाख्रा ५ रूपैयाँ र पशुचौपायाकाे १० रूपैयाँ दिने गरेको छ ।
कार्यालय प्रमुख दासले भ्याक्सिनेटरहरूलाई घुस रकम माग्न सवारीचालक यादवलाई दबाब दिएर फोन गर्न लगाउने गरेका थिए । काम गरेको रकम भुक्तानी माग गर्दा कार्यालय प्रमुखले घुस मागेपछि भ्याक्सिनेटरहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सामूहिक उजुरी गरेका थिए ।
कार्यालय प्रमुख दास यसअघि समेत विभिन्न भुक्तानीको विषयमा विवादमा तानिएको थियो ।