न्यूज टुडे
राजविराज,२१असार ।
हरिहरपुर- चाँदनी बजार जोड्ने सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित रहेको जिर्ण अवस्थामा रहेको क्ल्भर्टको मर्मत सम्भार गरिएको छ । कल्भर्ट भत्किंदा दुर्घटनाको जोखिम शिर्षकमा न्यूज टुडेमा समाचार प्रकाशित भएको एकसाता नवित्दै कल्भर्ट मर्मत सम्भार गरिएको हो ।
दैनिक सयौ सवारी साधन आवतजावत गर्ने २ नम्बर तथा ३ नम्बर वडा जोड्ने कल्भर्ट भत्किंदा ठूलो दुर्घटनाको जोखिम बढेको थियो । वडा नम्बर ३ का वडाध्यक्ष गोपाल प्रसाद चौधरी र वडा नम्बर २ का वडाध्यक्ष पशुपति प्रसाद चौधरीको विशेष पहलमा कल्भर्ट मर्मत सम्भारको कार्यले पूर्णता पाएको स्थानीयले बताएका छन् ।
कल्भर्ट मर्मत सम्भार कार्य सम्पन्न भएपछि उक्त बाटोबाट पूर्ववत यातायातका साधनहरु संचालनमा आएको एक स्थानीयले बताए ।
कल्भर्ट भत्किंदा बालबालिकालाई विद्यालय जान-आउन, दैनिक उपभोग्य अत्यावश्यक सामाग्री ओसारपसारमा समस्या भएको स्थानीयले बताएका छन् । कल्भर्टको मर्मत सम्भारले ठूलो दुर्घटना हुन सक्ने उच्च जोखिम न्यूनीकरण भएको स्थानीयले बताए ।
कल्भर्ट मर्मत सम्भारको कार्य तत्कालै गरिएकाले दुई वडा वीचको आवतजावत सहज भएको स्थानीयहरुको भनाइ छ । कल्भर्टको मर्मत गरि जोखिमपूर्ण यात्रालाई सहज बनाएको भन्दै स्थानीयले खुशी व्यक्त गरे ।
तत्कालीन सितापुर गाविसका अध्यक्ष वसन्त कुमार चौधरीले एनआर एनएनको सहयोगमा २०६३ /०६४ सालमा कल्भर्ट निर्माण भएको जानकारी दिदै उनले यसको पुनः निर्माणमा जोड दिएका थिए । तत्कालीन समयमा हल्का सवारी साधन आवतजावत गर्ने उदेश्यले बनाएको कल्भर्ट मानवीय चाँपसंगै ठूलो सवारी तथा दैनिक उपभोग्य सामान ओसारपसारका लागि प्रयोगमा आउन थालेकाले मर्मत सम्भारले मात्र समस्या टर्न नसक्ने उनको भनाइ छ ।
अग्नीसाईर कृष्णासवरन २ का वडा अध्यक्ष पशुपति प्रसाद चौधरीले कल्भर्टको अवस्था बारे जानकारी लिदै पुनर्निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।उनले तत्काल समस्या समाधानका लागि गम्भीरता पूर्वक निकासको पहलकदमी लिने बताएका थिए ।
उक्त कल्भर्ट्बाट दैनिक ३ देखि चारवटा विद्यालय बस, आधा दर्जन ट्याक्टर, दर्जनबढी ई- रिक्सा र सयौं मोटरसाइकल आवतजावत हुने गरेको स्थानीयले बताएका छन् । गिट्टी लोड गरिएको टिपर आवतजावत गर्दा गत सोमबार कल्भर्टको ढलान उप्किएर दुर्घटनाको जोखिम बढेको स्थानीयले न्यूज टुडेलाई जानकारी गराएका थिए ।
‘भुर्कीमा कल्भर्ट भत्किदा दुर्घटनाको जोखिम’ शिर्षकमा समाचार प्रकाशित भएपछि त्यसको प्रभावले एकहप्ता भित्र कल्भर्ट मर्मत सम्भार गरि पूर्ववत् रुपमा संचालनमा आएको छ ।