न्यूज टुडे
राजविराज,२० असार ।
मानव अधिकार रक्षकहरू तथा विभिन्न घटनामा पीडित भएकाहरूलाई न्यायमा पहुँच स्थापित र आपतकालीन अवस्थामा सहयोग गर्ने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयद्वारा गठन गरिएको मानव अधिकार सहायता कक्षको पुनर्गठन भएको छ ।
इन्सेक कोशी प्रदेशका संयोजक मनोहरकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले ज्येष्ठ नागरिक महासंघ कोशी प्रदेशका अध्यक्ष मणिकुमार अर्ज्याललाई मानव अधिकार सहायता कक्षको संयोजक चयन गरेको हो।
मानव अधिकार सहायता कक्षको बैठकमा राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशका सहसचिव वीरबहादुर बुढा मगरले मानव अधिकार सहायता कक्षले मानव अधिकार घटनामा पीडित भएकाहरूलाई न्यायमा पहुँच स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको बताए । उनले मानव अधिकार संस्थामा विभिन्न खाले पीडितहरू आउने र कतिपय अवस्थामा आर्थिक सहयोगसँगै कानुनी सहायताको आवश्यकता परेको अवस्थामा इन्सेकले स्थापना गरेको मानवअधिकार सहायता कक्षको प्रभावकारीता निकै भएको उल्लेख गरे ।
बैठकमा विराटनगर महानगरपालिका–११ का वडाध्यक्ष तथा न्यायिक समिति सदस्य तीर्थेन्द्र न्यौपानेले इन्सेकले मानव अधिकार सहायता कक्षबाट पीडितलाई न्याय प्राप्तिका लागि गरेको सहयोगले आफूलाई निकै प्रभाव पारेको बताए । उनले राज्यले मानव अधिकारको कुरा गरे पनि पीडित पक्षमा बोल्ने इन्सेक जस्ता संस्था नहुने हो भने राज्यले सचेत ढङ्गमा जिम्मेवारी पुरा गर्न समस्या हुने गरेको बताए ।
इन्सेकले बहुअपाङ्गता भएका बालकलाई जन्मदर्ताको प्रक्रियाका लागि गरेको सहयोगले राज्यको काम इन्सेकले गरेको वडाध्यक्ष न्यौपानेको भनाइ थियो ।
मानव अधिकार सहायता कक्षको उद्देश्य र हालसम्मका गतिविधिहरुको चर्चा गर्दै इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले जोखिममा परेका मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घनबाट पीडित व्यक्तिहरूको उद्दार, राहत, पुनर्स्थापना र पीडितको आपतकालीन आवश्यकताहरूलाई सम्बोधन गर्दै न्यायमा पहुँच पुर्याउन सहायता कक्षले प्रभावकारी कार्य गरिरहेको बतए ।
च्च वार एशोशिएसन अध्यक्ष हरि बरालले मानव अधिकार सहायता कक्ष बैठकले मानव अधिकारको परिभाषालाई यथार्थमा उतार गरेको बताए । उनले मानव अधिकार सहायता कक्षले पीडितको न्यायका लागि खेलेको भूमिकाको विषयमा प्रस्तुतीकरणबाट जानकारी पाएपछि मानव अधिकार सहायता कक्ष साँच्चिकै पीडितहरूको लागि अभिभावक जस्तो भएको बताए
सिविन नेपाल मोरङका संयोजक तथा मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष वासु अधिकारीले इन्सेकले मानव अधिकार सहायता कक्षको स्थापना गरी मानव अधिकारबाट पीडित भएकाहरूको कानुनी उपचार तथा न्याय प्राप्तिका लागि कोशे ढुङ्गा सावित भएको बताए । अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थासँग आर्थिक सहयोग प्रदान गर्ने अवस्था नभएकोमा इन्सेकको मानव अधिकार सहायता कक्षमा पीडितले न्याय पाउने अवस्था सिर्जना भएको बताए ।
मानव अधिकार सहायता कक्षमार्फत इन्सेक कोशी प्रदेश कार्यालयले मानव अधिकार रक्षक तथा विभिन्न घटनामा पीडित भएकाहरूलाई कानुनी प्रक्रियाका लागि सहयोग उपलब्ध गराउँदै आएको छ ।