न्यूज टुडे
राजविराज,१९ असार ।
सप्तरीमा गोली लगेर एक प्रहरी जवान गम्भीर घाइते भएका छन् । राजविराज कारागार सुरक्षामा खटिएका २२ वर्षीय प्रहरी जवान विश्वजीत राय यादव गोली लगेर घाइते भएका हुन् ।
सहकर्मीले बोकेको एसएलआर राइफल एक्कासी पड्किंदा प्रहरी जवान यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
कारागार सुरक्षामा खटिएका प्रहरी जवान २३ वर्षीय अजयकुमार मेहताले बोकेको राइफलको गोली लगेर यादव घाइते यादवलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्थामा सुधार नदेखिएपछि चिकित्सकको सल्लाहअनुसार। थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको कारागार प्रमुख रुपक मण्डलले बताए । यादवको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको कारागार प्रमुख मण्डलले जानकारी दिए।
उनकाअनुसार दुवै जना प्रहरी जवान अढाई साताअघि मात्रै तालिम सकाएर ‘ड्युटी जोइन’ गरेका थिए । नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर धनुषामा दरबन्दी रही काजमा खटिएका थिए ।
राति करिब साढे १० बजे कम्मरमाथिको भागमा गोली लागेका विश्वजीतलाई उद्धार गरी तत्कालै अस्पताल भर्ना गरिएको थियो ।