उत्तम आचार्य
कञ्चनरुप,१७ असार ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. १२ स्थित रूपनगर प्रगति टोलमा आरसिसी (RCC) सडक ढलान कार्य सम्पन्न भई औपचारिक रूपमा उद्घाटन गरिएको छ। मधेस प्रदेश सरकारका पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार लेखीले बुधबार एक समारोहका बीच रिबन काटेर सडकको उद्घाटन गरेका हुन् ।
चालू आर्थिक वर्षको प्रदेश सरकारको विशेष अनुदान अन्तर्गत विनियोजित २० लाख रुपैयाँको लागतमा उक्त सडक निर्माण गरिएको हो। प्रगति टोलका दिनेश बस्नेतको घरदेखि पश्चिम सुन्दरी टोल जाने १ सय मिटर लम्बाई, ६ मिटर चौडाई र ६ इन्च मोटाईको सडक खण्डको ढलान कार्य सफलतापूर्वक सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ।
लामो समयदेखि वर्षायाममा हिलो र हिउँदमा धूलोको समस्या झेल्दै आएका स्थानीय बासिन्दाहरू सडक ढलान भएसँगै निकै हर्षित भएका छन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि लेखीले सडक पूर्वाधारको विकास नै आर्थिक समृद्धिको मुख्य आधार भएको बताए। कालोपत्रे सडकको तुलनामा आरसिसी ढलान बढी टिकाउ हुने, पानीले नबिग्रने र मर्मत खर्च समेत कम लाग्ने भएकाले बढी भार वहन हुने क्षेत्रमा यस प्रविधिलाई प्राथमिकता दिइएको उनको भनाइ थियो।
सडक निर्माण कार्य प्राविधिक इस्टिमेट र तोकिएको मापदण्ड अनुसार गुणस्तरीय रूपमा सम्पन्न गर्न स्थानीय उपभोक्ता समिति र प्राविधिक टोलीले विशेष निगरानी राखेका थिए। सडक सञ्चालनसँगै गाउँ र टोल क्षेत्रको व्यापारिक गतिविधि बढ्ने र यातायात आवतजावतमा निकै सहजता आउने स्थानीयले विश्वास व्यक्त गरेका छन्।
उद्घाटन कार्यक्रममा कञ्चनरुप नगरपालिकाका पूर्व नगर प्रमुख बसन्त कुमार मिश्र, वडा सदस्यहरू जैनुद्दिन मियाँ र दिपक भट्टराई, स्थानीय भद्रभलादमी, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।