• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

भुर्कीमा कल्भर्ट भत्किंदा दुर्घटनाको जोखिम

भुर्कीमा कल्भर्ट भत्किंदा दुर्घटनाको जोखिम
न्यूज टुडे
राजविराज,१७ असार । 
हरिहरपुर- चाँदनी बजार जोड्ने सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित रहेको क्ल्भर्ट भत्किंदा दुर्घटनाको जोखिम बढेको छ ।  दैनिक सयौ सवारी साधन आवतजावत गर्ने २ नम्बर तथा ३ नम्बर वडा जोड्ने  कल्भर्ट भत्किंदा ठूलो दुर्घटनाको जोखिम बढेको हो । 
कल्भर्ट भत्किंदा बालबालिकालाई विद्यालय जान-आउन, अत्यावश्यक सामाग्री ओसारपसारमा समस्या भएको स्थानीयले बताएका छन् । कल्भर्टको मर्मत सम्भार नहुँदा कुनै बेला ठूलो दुर्घटना हुन सक्ने उच्च जोखिम रहेको स्थानीय केशव चौधरीले बताए ।
उनले कल्भर्ट मर्मत सम्भारको कार्य तत्कालै नगरिए दुई  वडा वीचको आवतजावत टुट्न सक्ने आशंका व्यक्त गरे ।  चौधरीले कल्भर्टको मर्मत गरि जोखिमपूर्ण यात्रालाई सहज बनाउन आग्रह गरे ।
तत्कालीन सितापुर गाविसका अध्यक्ष वसन्त कुमार चौधरीले एनआर एनएनको सहयोगमा २०६३ /०६४ सालमा  कल्भर्ट निर्माण भएको जानकारी दिदै उनले यसको पुनः निर्माणमा जोड दिए । तत्कालीन समयमा हल्का सवारी साधन आवतजावत गर्ने  उदेश्यले बनाएको कल्भर्ट मानवीय चाँपसंगै ठूलो सवारी तथा दैनिक उपभोग्य सामान ओसारपसारका लागि प्रयोगमा आउन थालेकाले मर्मत सम्भारले मात्र समस्या टर्न नसक्ने उनको भनाइ छ । 
अग्नीसाईर कृष्णासवरन २ का वडा अध्यक्ष पशुपति प्रसाद चौधरीले कल्भर्टको अवस्था बारे जानकारी लिदै पुनर्निर्माणका लागि पहल भइरहेको बताए । अहिले बजेट खर्चको अन्तिम चरण रहेकोले चालू आर्थिक बर्षमा सम्भव नभए आगामी आवको बजेट खर्च गरेर भएपनि कल्भर्ट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । 
उनले तत्काल समस्या समाधानका लागि गम्भीरता पूर्वक निकासको पहलकदम लिइरहेको जानकारी दिए । 
उक्त कल्भर्ट्बाट  दैनिक ३ देखि चारवटा विद्यालय बस, आधा दर्जन ट्याक्टर, दर्जनबढी ई- रिक्सा र सयौं मोटरसाइकल आवतजावत हुने गरेको स्थानीयले बताएका छन् । 
गिट्टी लोड गरिएको टिपर आवतजावत गर्दा सोमबार कल्भर्टको ढलान उप्किएर दुर्घटनाको जोखिम बढेको स्थानीयले जानकारी दिएका छन् ।