न्यूज टुडे
राजविराज,१७ असार ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ अवस्थित श्री सुदनवती देवीलाल, फुलमन्ती जनता माध्यमीक विद्यालयको निर्माणाधीन भवनका लागि मधेस प्रदेश सरकारले ५० लाख उपलब्ध गराएको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर १( क) बाट निर्वाचित प्रदेश सभा सदस्य एवम् मधेस प्रदेशका पूर्व गृह, सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीले बुधबार विद्यालयमा निर्माणाधीन भवनको निरीक्षण गर्दै विद्यालयलाई बजेट उपलब्ध गरिएको जानकारी गराएका हुन् ।
विद्यालयको पूर्वाधार तथा शैक्षिक गतिविधि बारे जानकारी लिँदै पूर्वमन्त्री लेखीले विद्यालयलाई आवश्यक सम्पूर्ण बजेट उपलब्ध गराउन नसकिएपनि आव २०८३/०८४ को बजेटमा विद्यालयको अधुरो भवनका लागि ५० लाख बजेट विनियोजन गराएको बताए । मधेस प्रदेश सरकारले आव २०८३/०८४ का लागि बजेट बनाउने अन्तिम चरणमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कुशेश्वर प्रसाद चौधरीले गरेको आग्रह अनुसार थोरै बजेट उपलब्ध गराइएको बताउँदै उनले नौ सयबढी छात्रछात्रा, ३० बढी शिक्षक कर्मचारी, गुणस्तरीय शिक्षा उपलब्ध गराउने यस्तो शैक्षिक संस्थाको आवश्यक पूर्वाधार निर्माणमा आगामी बर्षहरुमा समेत बजेट पार्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आफू निर्वाचित भएदेखि प्रदेशसभा निर्वाचन क्षेत्रको २५ वडामा मात्रै सानाठूला गरी ४ सय ५० बढी योजनाका काम सम्पन्न गरेको दावी गर्दै उनले यस क्षेत्रका १८जना पूर्व साँसदको तुलनामा सबैभन्दा बढी विकास निर्माणका काम गरेको जिकिर गरे ।
विकास एकजना मन्त्री साँसदको चाहनाले मात्र नहुँने भन्दै मन्त्री लेखीले बजेटको सदुपयोग र दिगोपनाका लागि सम्पूर्ण सचेत नागरिकको सामुहिक प्रयासको आवश्यकता औल्याए ।
विकासको काम कुनै पार्टी वा कसैको पहलबाट भएपनि सकारात्मक रुपमा लिनुपर्ने बताउँदै उनले आफूले स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी नागरिक अगुवा तथा सबै पार्टी प्रतिनिधिसंग छलफल गरेर योजना ल्याउने गरेको उल्लेख गरे ।
संघीयता पछि विकास र समृद्धिको यात्राले गति लिएको भन्दै संघीय शासन व्यवस्थाको संरक्षणमा जोड दिदै पूर्व मन्त्री लेखीले संघीयताको विरोध गर्नेहरू देशको समृद्धि र विकास विरोधी भएको टिप्पणी गरे ।
प्रदेशमा पठाइने २ प्रतिशत बजेटले गाउँटोलमा पक्की सडक संजालको विकास, विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा पक्की भवन, मन्दिर, गुम्बा, मज्जिद लगायतका पक्की संरचना तथा सामाजिक विकासका काम समेत प्रशस्त भएको चर्चा गर्दै उनले ८५ प्रतिशात बजेट केन्द्रित गरेको संघीय सरकारले कुनै काम गर्न नसक्नुले निकम्मा भएको आरोप लगाए ।
संघीयताकै कारण आदिवासी जनजाति, थारु,मधेसी , मुश्लिम, दलित, महिला , अल्पसंख्यक समुदायको देशमा शासन, प्रशासनमा प्रतिनिधित्व र सहभागीता बढेको उल्लेख गर्दै उनले लामो संघर्ष र जनताको बलिदानीबाट प्राप्त उपलब्धि समाप्त गर्ने खेल स्वीकार्य नहुने बताए ।
जनता माझ सुशासन र समृद्धिको आशा र भरोसासाथ निर्वाचनमा होमिएको रास्वपा नेतृत्वको सरकार आफैले जनतासंग गरेको बाचा विरुद्ध अगाडि बढेको बताउँदै उनले जनादेश विपरीत बालेन नेतृत्वको सरकारले नीति लिए १ बर्षभित्र ढ्ल्ने ठोकुवा गरे ।
बालेन सरकारले संघीयता र समबेशीता दानमा नदिएको भन्दै खारेज गर्ने दुस्साहस भए प्रतिरोध हुने चेतावनी दिदै उनले काँग्रेस ,नेकपा , एमाले, जसपा नेपाल लगायत सबै पार्टीका नेताकार्यकर्ता तथा सम्पुर्ण नेपाली नागरिकलाई संघीयताको रक्षाका लागि एकजुट भएर प्रतिकार गर्न आग्रह गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष पशुपति प्रसाद चौधरी, स्थानीय पत्रकार बृजमान तामाङ, भिम बहादुर राई, पूर्व प्रधानपञ्च साहावीर चौधरी, प्रथम लाल चौधरी, कुशेश्वर प्रसाद साह लगायतकाले विद्यालयको अवस्था तथा स्थानीय समस्याको बारे ध्यानाकर्षण गराए ।
कार्यक्रम संचालन विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कुशेश्वर प्रसाद चौधरीले गरेका थिए ।