सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य एवम् मधेस प्रदेशका पूर्व गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले नेपालमा संघीय व्यवस्था तथा प्रदेश खारेज गरिए नेपालको संविधान २०७२ समाप्त हुने टिप्पणी गरेका छन् । मिडिया काउन्सिल मधेस प्रदेशद्वारा सप्तरीको कञ्चनपुरमा सोमबार आयोजित विश्वासनीय मर्यादित र व्यवसायीक पत्रकारकारिता प्रबर्द्धनका लागि आचारसंहिता तथा भाषा र शैली सम्बन्धि अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री लेखीले देशको विकास र समृद्धिका लागि संघीय शासन व्यवस्था अपरिहार्य रहेको जिकिर गरे । संघीय व्यवस्थालाई कम्जोर र अधिकार विहीन बनाउने चलखेल हुन थालेको प्रति आक्रोश व्यक्त गर्दै उनले संघीय सरकारले देशलाई पुनः एकात्मक, केन्द्रकृत तानाशाही व्यवस्था तर्फ लाने षड्यन्त्र गरिरहेको आरोप लगाए ।
देशको विकास र समृद्धिको आधार संघीय शासन प्रणाली एक मात्र विकल्प रहेको चर्चा गर्दै पूर्वमन्त्री लेखीले संघीय लोकतान्त्रिक गणतन्त्र रहिरहे भने मात्र सबैजना अधिकार सम्पन्न हुदै जाने जिकिर गरे ।
‘ देशको नेतृत्व गरिरहेको मुलुककै ठूलो पार्टीले प्रदेश खारेज गर्ने लिएको नीति प्रति खेद व्यक्त गर्दछु’ उनले भने ‘नेपालमा संघीय व्यवस्था र प्रदेश खारेज गर्नु भनेको नेपालको संविधान २०७२ समाप्त गर्नु हो’
उनले राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको प्रदेश खारेज गर्ने नीति जनताको कठोर बलिदानीबाट प्राप्त उपलब्धि समाप्त पार्ने र नेपालको संविधान २०७२ खारेज गर्ने षड्यन्त्र भएको तर्क गरे ।
देशको सबै परिबर्तनकारी आन्दोलनमा अतुलनीय योगदान पुर्याएका पत्रकारहरुलाई कमजोर पार्ने नियतले सरकारले संचारमाध्यममाथि गरिएको आर्थिक नाकाबन्दी लोकतान्त्रमाथिको आक्रमण भएको उल्लेख गर्दै उनले सरकारले पत्रकारमाथि गरेको अन्याय तथा संघीयता खारेज गर्ने षड्यन्त्र स्वीकार्न नसकिने बताए ।
संघीय सरकारको नीति तथा नियत दुबै ठिक नभएको आरोप लगाउँदै कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री लेखीले सरकारको परिबर्तन विरोधी, राष्ट्रघाती नीति विरुद्ध पत्रकारहरुलाई थप जिम्मेवार भएर कलम चलाउन आग्रह गरे ।
संघीयता, समावेशीता, समानता र तीन तहको संरचनाले राज्यको सेवा सुविधामा आम सर्वसाधारण नागरिकको पहुँच र सबैलाई सेवा प्रवाहमा सहजता मिलेको उल्लेख गर्दै उनले जुन दिन संघीयतामाथि खतरा आउछ, हामी नेपाली नागरिक चुप लागेर बस्न नहुने भन्दै सचेत गराए ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारकारितामा देखिएको विकृतिले समग्र पत्रकारिता क्षेत्रमा आघात पुगेको बताए । नयाँ पुस्तामा देखीएको सूचना संकलन गर्ने अज्ञानताले सम्पूर्ण पत्रकारिता क्षेत्र माथि प्रश्न उठेको र बदनाम भएको भन्दै उनले पत्रकारकारिताको मुल सिद्धान्तमा रहेर काम गर्न आग्रह गरे ।
पत्रकार आचारसंहिता सिक्ने, सिकाउने नभएर आफैंले पालना गर्नुपर्ने विषय भएको बताउँदै उनले पत्रकारिता क्षेत्रलाई मर्यादित,विश्वासनीय, समाजप्रति उत्तरदायी बनाउन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेशकी उपाध्यक्ष अम्विका दाहालले पत्रकारितामा बढ्दै गएको उछृङ्खल गतिविधि स्वीकार्न नसकिने बताइन् । समाजमा द्वन्द फैलाउने र विभाजन ल्याउने पित्त पत्रकारिता गर्ने पत्रकार कहलाउने गरेको चर्चा गर्दै उनले इमान्दार, समाज र देश प्रति बफादार पत्रकारहरु दयनीय अवस्थामा पुगेको भन्दै दुख व्यक्त गरिन ।
लोक सञ्चार तथा चलचित्र बोर्ड मधेस प्रदेशका अध्यक्ष किशोर कुमार लेखीले सप्तरीका पत्रकारहरुले विभिन्न परिबर्तनको आन्दोलनमा देखाएको साहस अविस्मरणीय रहेको भन्दै प्रशंसा गरे ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखा अध्यक्ष श्रवण कुमार देवले पत्रकारिताको नाममा हुने अराजकताता प्रति चिन्ता व्यक्त गर्दै पत्रकारिताको मर्म विपरीतको अमर्यादित गतिविधि नियन्त्रणमा जोड दिए ।
मिडिया काउन्सिल मधेस प्रदेशकी कार्यबाहक अध्यक्ष बन्दना कुमारी झाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लामा कार्यरत राष्ट्रिय तथा स्थानीय संचारमाध्यममा आबद्ध पत्रकारहरुको सहभागिता थियो ।