न्यूज र्टुडे
राजविराज,२५ चैत ।
सरकारी विज्ञापन सरकारी स्वामित्वको मिडियामा प्रकाशन प्रसारण गर्न सरकारले गरेको परिपत्रको विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलन शुरु गरेको छ । पहिलो चरणको विरोधका कार्यक्रम अनुसार केन्द्रीय समिति ,प्रदेश समिति तथा देश भरका जिल्ला शाखाहरुले बुधबार आफ्ना पूर्व अध्यक्षहरुसंग छलफल गरेको हो ।
महासंघको सप्तरी शाखाले राजविराजस्थित आफ्नै कार्यालयमा छलफल कार्यक्रममा आयोजना गरेका थिए । छलफलमा सहभागी पूर्व अध्यक्षहरुले सरकारको निर्णयप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।
शाखा सप्तरी अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै शाखाका पूर्व अध्यक्ष बिष्णु कुमार मण्डलले बालेन सरकारले समग्र पत्रकारिता क्षेत्रलाई कमजोर बनाउने र स्वतन्त्र सञ्चारमाध्यमको अस्तित्व समाप्त पार्ने षड्यन्त्र गरेको आरोप लगाए ।उनले पर्याप्त अध्ययन तथा सरोकारवालासँगको परामर्शबिनै हतारमा निर्णय लिनु अहंकारको पराकाष्ठा भएको टिप्पणी गरे ।
पूर्व अध्यक्ष एवम् प्रेस काउन्सिलका पूर्व सदस्य मुरली प्रसाद यादवले सरकारको निर्णयलाई अपरिपक्व र अनुभवहीन कदमको संज्ञा दिए । उनले सरकारको कदमले सञ्चारकर्मीहरूको पेशागत सुरक्षामा नकारात्मक असर पार्ने बताए । सरकारले गरेको परिपत्र खारेज गर्नुको विकल्प नभएको बताउँदै उनले विज्ञापन वितरणमा समान अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाले सरकारको कदम पत्रकारहरूको हितविपरीत रहेको बताउँदै तत्काल निर्णय फिर्ता लिन जोडदार माग गरे ।
अर्का पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साहले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने कुनै पनि प्रयास स्वीकार्य नहुने बताए । उनले सरकार पछि नह्टेसम्म आन्दोलनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
शाखा अध्यक्ष श्रवण कुमार देवले सरकारको निर्णयले पत्रकारहरूको अधिकार कुण्ठित गरेको भन्दै निर्णय फिर्ता नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । उनले महासंघले देशभर चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने संकेत पनि गरे ।
राष्ट्रिय तथा स्थानीय विभिन्न संचार माध्यम कार्यरत सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रताको रक्षा गर्न एकजुट भएर निर्णायक आन्दोलन गर्नु अपरिहार्य रहेको बताए ।