• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीवासीको सम्मान र पहिचानका लागि निरन्तर संघर्ष गर्नेछु : उमेश 

सप्तरीवासीको सम्मान र पहिचानका लागि निरन्तर संघर्ष गर्नेछु : उमेश 
न्यूज टुडे
राजबिराज,०२ फागुन । 
जनता समाजवादी पार्टी नेपालका नेता एवम् पूर्वमन्त्री तथा सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उमेश कुमार यादवले सप्तरीवासीको सम्मान र पहिचानका लागि निरन्तर संघर्ष गर्ने बताएका छन्।राजबिराज नगरपालिका वडा नम्बर २ मा शनिबार आयोजित जनतासँग भेंटघाट तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै यादवले जनविश्वास कहिल्यै नतोड्ने प्रतिबद्धता व्यक्त गर्दै सप्तरीवासीको सम्मान र पहिचानका लागि निरन्तर संघर्ष गर्ने बताए।
 झुठा आश्वासन र भ्रममा नफस्न मतदातालाई आग्रह गर्दै उनले अधिकार र विकासका लागि निरन्तर संघर्ष गर्ने उम्मेदवारलाई रोज्नुपर्नेमा जोड दिए। हाल चुनावी माहोलमा भ्रामक प्रचारमार्फत जनतालाई दिग्भ्रमित गर्ने प्रयास भइरहेको उल्लेख गर्दै  उनलेे यस्ता गतिविधिबाट सचेत रहन आग्रह गरे।
“भ्रामक प्रचार गर्नेहरुलाई जनताले चिन्नु जरुरी छ’ उनले भने, ‘हामीले सामाजिक सञ्जालको सहारामा होइन, जनसंघर्षबाट राजनीति गरेका हौँ। यस्तो झुठा आश्वासनको पछि पर्नुहुदैन। ”
विगतका उपलब्धि र विकासका योजनाको  चर्चा गर्दै सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार यादवले जसपा नेपाल नेतृत्वमा अघि बढाइएका विभिन्न विकास योजनाहरुको स्मरण गरे । उनले सप्तरीको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याए।
पार्टी अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका बेला जिल्लामा दीर्घकालीन  ठू-ठूला आयोजना अगाडि बढाइएको चर्चा गर्दै उनले  संचालनमा रहेको प्रमुख विकास योजनाहरुलाई पूर्णता दिने समेत संकल्प गरे । 
गजेन्द्रनारायण सिंह अस्पतालमा थप शैय्यासहित अत्याधुनिक भवन निर्माण, कृषि विश्वविद्यालय स्थापना तथा पठनपाठन सञ्चालन,अस्पताल परिसरमै नर्सिङ भवन निर्माण,महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा इन्जिनियरिङ भवन,रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना,राजविराज–रुपनी चार लेन सडक विस्तार, गाइघाट- रुपनी,राजविराज -छिन्नमस्ता–न्यौर सडक निर्माण, राजविराज–हनुमाननगर–भारदह सडक स्तरोन्नति यी योजनाहरुलाई पूर्णता दिने र नयाँ विकास आयोजनाहरु अघि बढाउने लक्ष्य आफ्नो रहेको उनले बताए।
उनले सप्तरीवासीले गरेको विश्वासलाई उच्च सम्मान दिने र सधै  जनताको शीर उँचो राख्ने प्रतिबद्धता व्यक्त गरे ।  सप्तरी शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारका हिसाबले अझै पछाडि परेको बताउँदै सप्तरीको विकास र समृद्धिका लागी अनुभवी र विकासप्रेमी नेतृत्व चयन गर्नुपर्ने धारणा राखे। 
कार्यक्रममा जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य शैलेन्द्रमोहन झा, मधेस प्रदेश पूर्व सचिव युसुफ अलि, जिल्ला सचिवद्वय निरज मुक्ति र जयनारायण यादवलगायत पार्टीका विभिन्न तहका नेताहरुको उपस्थिति थियो। 
‘मधेशी तथा शोषित–उत्पीडित समुदायको अधिकार संरक्षण र संस्थागत, सप्तरीमा स्वास्थ्य सेवा विस्तार र आधुनिक अस्पताल पूर्वाधार कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षाको विकास,सडक तथा यातायात पूर्वाधार चार लेन र ग्रामीण सडक विस्तार,युवा लक्षित रोजगारी र सीप विकास कार्यक्रम,शिक्षा क्षेत्रको आधुनिकीकरण र प्राविधिक  शिक्षा अध्ययनको प्रवर्द्धन, दीर्घकालीन क्षेत्रीय विकास योजना मार्फत सप्तरीको समग्र रूपान्तरण लगायत यादवले प्रमुख चुनावी एजेण्डा अगाडि सारेका छन् ।