• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेकपाका प्रभावशाली नेता यादवद्वारा  पार्टी परित्याग :  जसपा नेपालमा प्रवेश

नेकपाका प्रभावशाली नेता यादवद्वारा  पार्टी परित्याग :  जसपा नेपालमा प्रवेश
न्यूज टुडे
राजबिराज,२२ 
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता उमेश कुमार यादवले पार्टी परित्याग गरेका छन् ।  पूर्व सिचाइमन्त्री समेत रहेका नेता यादव मंगलबार नेकपा परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका हुन् ।
ललितपुरस्थित बालकुमारीमा रहेको जसपा नेपालको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका वीच पार्टी अध्यक्ष उपेन्द्र यादवले खादा ओढाएर उनलाई औपचारिक रूपमा पार्टी प्रवेश गराउँदै स्वागत गरे ।
सप्तरी निवासी यादव लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका छन् । जसपा नेपाल प्रवेश गर्दै नेता यादवले वर्तमान राजनीतिक परिस्थितिमा संघीयताको प्रभावकारी कार्यान्वयन, मधेशको अधिकार, पहिचान र सामाजिक न्यायका सवालमा जसपा नेपालको एजेन्डा स्पष्ट तथा जनमुखी रहेकाले आफू यस पार्टीमा आबद्ध भएको बताए । उनले जसपाको नेतृत्वमा मात्र शोषित, उत्पीडित तथा सीमान्तकृत समुदायका अधिकार सुनिश्चित हुन सक्ने विश्वास व्यक्त गरे ।
यस अवसरमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अनुभवी नेता यादवको आगमनले पार्टी संगठन सुदृढ हुने र मधेश आन्दोलन तथा समावेशी लोकतन्त्रको संघर्ष अझ सशक्त बन्ने विश्वास व्यक्त गरे । उनले यादवको सक्रिय भूमिकाले पार्टीलाई राष्ट्रिय राजनीतिमा थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे ।
उमेश यादव तत्कालीन जनयुद्धकालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन् । उनले माओवादी आन्दोलनका क्रममा सेल कमिटीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न जिम्मेवारी सम्हालेका थिए । साथै मधेशी राष्ट्रिय मुक्ति मोर्चाको सप्तरी संयोजक, जिल्ला जनसरकार प्रमुख तथा जनमुक्ति सेनाको बटालियन कमिसारको रूपमा समेत कार्य गरिसकेका छन् ।
२०७० सालमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य निर्वाचित भएका नेता यादवले सिचाई मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए । 
यादव मन्त्री भएपछि खाँडो नदी नियन्त्रण कार्यालय सप्तरीमा स्थापना गरि खाडोको बाढीबाट प्रभावितको पक्षमा साथै रिङ्ग रोडलगायतका जिल्लाका विभिन्न भौतिक पूर्वाधार निर्माण कार्यमा अतुलनीय योगदान दिएका थिए ।