मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चुरे विनाश प्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षणमा तीनै तहको सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
वातावरणीय सन्तुलन सबैका लागि चिन्ताको विषय रहेको भन्दै उनले यसका लागि पनि चुरेको संरक्षण आवश्यक रहेको बताएका हुन् । गत विहीबार धनुषाको लालगढमा आयोजित एक कार्यक्रमको उद्घाटनका क्रममा मुख्यमन्त्री सिंहले यस्तो बताइरहँदा मधेशमा खडेरीले रोपाइँ हुन नसकेको, ठाउँ–ठाउँमा पिउने पानीको समेत हाहाकार मच्चिएको अवस्था थियो, जुन अहिले पनि छँदैछ । समयमा वर्षा नभएर पर्ने खडेरीका कारण रोपाइँ गर्न नसकी खेत बाँझै रहनेदेखि पानीको समेत संकट बढेपछि यसले जनजीवनमा कुन हदसम्मको संकट निम्त्याउन सक्छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । मुख्यमन्त्रीले बताएको कुरा कुनै नौलो नहुन सक्छ । चुरे संरक्षणको कुरालाई गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले उतिबेला नै उठाईसकेका छन् । तर सरकारसँगै राजनीतिक दलहरुले यसप्रति गम्भीरताका साथ चासो नलिएका कारणले नै अहिले चुरो विनाशका दुष्परिणामहरु देखा पर्न थालेका हुन् । नारामा वा भाषणमा चुरे संरक्षणको मुद्दालाई सधै जसो उठाउने गरिन्छ, यस सम्बन्धि योजना र कार्यक्रम पनि ल्याईएकै छन् जसमा करोडौंको लगानी समेत भई नै रहेको छ । तर परिणामलाई हेर्ने हो भने शून्य नतिजामा चित्त बुझाउनु पर्ने अवस्था छ भन्दा अन्यथा नहोला?
समग्रमा हेर्दा तराई मधेशका जिल्लामा भूमिगत पानीको सतह क्रमशः घट्दै गएको छ । यसले अनेक थरीको संकट निम्त्याउने निश्चित नै रहेका कारण अब पनि चुरेमाथिको दोहनलाई रोकेर संरक्षणमा नलाग्ने हो भने भविष्यमा ठूलो मूल्य चुकाउनु पर्ने अवस्था आउन सक्दछ ।