न्यूज टुडे
राजविराज, १९ असार ।
सप्तरी प्रहरीले एक अटोसहित भारतबाट अबैध रुपमा नेपाल ल्याइएको लाखौंको विभिन्न सामान नियन्त्रणमा लिएको छ । सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका ५ कुशहाबाट अबैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरि ल्याएको ९ लाखबढीको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलिले मधेस प्रदेश ०१-००१ह १४१९ नम्बरको अटोसहित ५ लाख १७ हजार ९ सय रुपैयाँको अबैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरि ल्याएको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीलाई देखेपछि अटो र सामान छोडी संलग्न व्यक्ति भने फरार भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । उनका अनुसार सुटीको साडी ३७ पिस, साडी २३ पिस,,लेडिज कुर्तासुरुवाल १ सय ८८ पिस र १ थान अटो बरामद भएको छ ।
यसैगरी सप्तरीको विष्णुपुर गाउँपालिका ५ विष्णुपुर चौक स्थित भारतबाट अबैध रुपमा भन्सार छ्ली तथा चोरी पैठारी गरि ल्याउँदै गरेको ४५ हजार ७ सयको कपडा नियन्त्रणमा लिएको प्रहरीले बताएका छन् । प्रहरी टोलीलाई देखी मानिस भने फरार भएको डिएसपी बस्नेतले जानकारी दिए ।
उनका अनुसार बोलबमको भेस्ट १६ पिस, हाप पाइन्ट १० पिस, लेडिज दुपट्टा १ सय पिस, लेडिज कुर्ता सुरुवाल १० पिस,बच्चाको टोपी ५० पिस, लाइट बल्ब १ सय पिस र लेगिज ६० पिस बरामद भएको थियो ।
अटोसहित बरामद गरिएको सामान बिहिवार तिलाठी भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।