• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी एमालेमा चरम गुटबन्दी, पार्टी भित्रबाटै एकाअर्काको चरीत्र हत्याको प्रयास

सप्तरी एमालेमा चरम गुटबन्दी, पार्टी भित्रबाटै एकाअर्काको चरीत्र हत्याको प्रयास
न्यूज टुडे
राजविराज,१९ असार । 
सप्तरीमा नेकपा एमालेमा चरम गुटबन्दीले नेताकार्यकर्ता वीच नै आरोपप्रत्यारोप चुलिएको छ । गुटबन्दीको कारण पार्टी भित्रबाट जनप्रतिनिधि, मन्त्री तथा नेताकार्यकर्ताको चरीत्र हत्या गर्नेसम्मको प्रयास  थालिएको हो । 
पार्टीका पोलिटव्यूरो सदस्य सुमनराज प्याकुरेल र स्थायी समिति सदस्य सत्यनारायण मण्डल, केन्द्रीय सदस्य दिवाकर देवकोटा, केन्द्रीय सदस्य राज कुमार लेखी वीचको विवाद उत्कर्षमा पुगेको एमालेकै एक स्थानीय नेता बताउँछन् ।  उनका अनुसार नेताहरुकै निर्देशनमा एकाअर्काको चरीत्र हत्या गर्ने  कार्यमा आफू निकट कार्यकर्तालाई उक्साउने गरेका छन् । 
पार्टीका केन्द्रीय सदस्य एवम् मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सप्तरीमा विकास निर्माणका कार्यहरूप्रति निरन्तर लागिरहेकै अवस्थामा पार्टीकै केही व्यक्तिहरूले अनर्गल, झुठा र भ्रामक आरोप लगाइरहेको भन्दै  सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरेका छन् । 
 गृहमन्त्री एवम् नेकपा एमालेका केन्द्रीय सदस्य लेखीले पार्टीका केही कार्यकर्ताले विगत केही महिनादेखि लक्षित ढंगले आक्षेप लगाउँदै आएकोप्रति गम्भीर आपत्ति व्यक्त गरेका छन् । 
आफु आमजनता तथा कार्यकर्ता माझ गएर काम गरिरहेको विषयमा अध्यक्ष ओलीले अभियान सही भनेपनि तर जिल्लामा आरोपको वर्षा” :मन्त्री लेखीको गुनासो छ । 
पार्टी भित्रको समस्या सम्बन्धित विषयमा पार्टीका शीर्ष नेताहरूलाई समयमै जानकारी गराइसकिएको भन्दै एमाले सप्तरीभित्रै यस्तो प्रकारको गतिविधि मौन समर्थनमा भइरहनु चिन्ताजनक रहेको लेखीको भनाइ छ ।
“गाउँ गाउँमा पुग्दा र विकास निर्माणमा चासो देखाउँदा पार्टीकै केही नेताहरूबाट डाह, ईर्ष्या, कुन्ठा र जलनको व्यवहार देखिनु दुःखद हो,” एक स्थानीय नेताले भने, ‘यो पार्टी भित्रको गुटबन्दीकै प्रभाव हो ।’
लेखीले मलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भएको भेटघाटमा अध्यक्षले “तपाईंको अभियान सही छ,” भनेर समर्थन जनाएको उल्लेख गर्दै, नेतृत्वस्तरबाट प्राप्त हौसलाका बाबजुद जिल्ला तहमा यस्तो अराजक गतिविधि हुनु आपत्तिजनक भएको  बताए । 
लेखीले सम्बन्धित स्थान र अवसरमा आफ्नो धारणा सार्वजनिकरूपमा राख्ने बताए । पार्टी भित्रबाट चरीत्र हत्या गर्ने गतिविधि बढी रहेको लेखीको असन्तुष्टिले पार्टीभित्र गुटबन्दी भएको कुरालाई स्पष्ट पारेको छ । 
उनले नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेललाई पार्टी भित्रबाट अराजक गतिविधि,आपत्तिजनक प्रतिक्रिया आएको बारे जानकारी गराउँदा कुनै सुनुवाइ  नभएको बताए । 
सप्तरीमा एमाले भित्रको गुटबन्दी नयाँ भने होइन ।  जयकृष्ण गोइत, उमेश यादव ,गोविन्द न्यौपाने, प्रकाश खतिवडा, उषा पोखरेललगायतका सप्तरीका एमाले नेताहरु गुटबन्दीकै कारण पार्टी परित्याग गर्न बाध्य भएका छन् ।