न्यूज टुडे
राजविराज, १८ असार ।
संघीय सरकारले उखु किसानको अनुदान कटौती गरेको प्रति जनमत पार्टीले कड़ा बिरोध जनाएको छ । जनमत पार्टी मधेश सवन्मय समितिले बर्षो देखि संघीय सरकारले दिदै आएको अनुदान निरन्तरताका लागी आवश्यक पहल गरिदिन भन्दै बुधवार मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापन पत्र बुझाएको हो ।
जनमत पार्टी मधेश प्रदेश सवन्मय समितिका अध्यक्ष राम स्नेही यादवको नेतृत्वमा मुख्यमन्त्री सिंहलाई ज्ञापन पत्र बुझाउँदै संघीय सरकारले उखु किसानको अनुदान यस वर्ष कटौती गरेर समस्यामा रहेका किसानलाई थप प्रताडित गर्ने कार्य गरेको उल्लेख गरेको छ ।
मुख्य रूपमा मधेश प्रदेशमा हुने उखु खेतीका लागी अनुदान कटौती गर्ने संघीय सरकारको कार्य भेदभावपूर्ण र किसान विरोधी रहेको ज्ञापन पत्रमा भनिएको छ । उखु किसानको अनुदानलाई निरन्तरताका लागि संघीय सरकारसंग आवश्यक पहलका लागि मुख्यमन्त्री सिंहलाई आग्रह गर्दै जनमत पार्टीले प्रदेश सरकारलाई किसानको पक्षमा खड़ा हुन समेत आग्रह गरेको छ ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री सिंहले उखु किसानको अनुदानको निरन्तरताका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष यादवको नेतृत्वमा ज्ञापन पत्र बुझाउन आएको टोलीमा उपाध्यक्ष सन्तोष पटेल, सचिव कौसलेन्द्र गिरी सहितका नेता कार्यकर्ता सहभागी रहेका थिए ।