न्यूज टुडे
राजविराज, १८ असार ।
सप्तरीको विष्णुपुर गाउँपालिकामा संचालित सातदिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । विष्णुपुर गाउँपालिकाको सहयोगमा अभिव्यक्ति मिडिया प्रा.लि.राजविराजद्वारा आयोजित पत्रकारिता तालिम मंगलबार एक समारोहका वीच सम्पन्न भएको हो ।
कार्यक्रमका बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले सबै वडामा विकास, निर्माण, कृषि, शिक्षा, यातायात, स्वास्थ्य, विद्युत, खानेपानी, सिंचाई, सीप विकास, रोजगारका साथै ग्यास चुल्हो, सिलाई मेसिन वितरण लगायतका कार्यहरु प्राथमिकताका साथ अगाडि बढाइएको बताए । तीनवर्ष अघिको पालिका र अहिलेको पालिकामा आएको परिवर्तनबारे तुलनात्मक रुपमा सुधार आएको दावी गरे ।
‘पहिले र अहिलेमा तुलनात्मक भिन्नताको विषयमा जनताले मूल्याङ्कन गरिरहेका छन्’ उनले भने,’पालिका, वडा भवनहरु, विद्यालय भवनहरुको निर्माण तीब्र रुपमा अगाडि बढेका छन् ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले पत्रकारिता गर्दा आचारसंहितालाई अनिवार्य रुपमा पालना गर्नुपर्नेमा जोड दिए ।
‘ पत्रकार समेत मर्यादामा बस्नुपर्ने हुन्छ’ उनले भने ‘कानुनमाथि कोही छैन, पत्रकारले समेत कानुनको पालना गर्नुपर्छ ।’ अझैं पनि काम गर्ने पत्रकारका लागि पर्याप्त सम्भावना रहेको भन्दै उनले काम गर्ने नयाँ पत्रकारहरुको प्रवद्र्धन गर्न हामी प्रतिवद्ध छौं ।’
आमसञ्चार प्राधिकरणका संस्थापक अध्यक्ष एवम् अभिव्यक्ति मिडिया प्रा.लि.का अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित तालिम समापन समारोहमा वडा अध्यक्षहरु बलराम यादव, जिबछ मण्डल, लोचन साह, प्रमुख प्रशिक्षक विनय कुमार लाल कर्ण लगायतले पत्रकारिता क्षेत्रको प्रवद्र्धनमा आफुहरु प्रतिवद्ध रहेको बताए । सहभागीहरुमध्ये दिपा यादव, आरके यादवले तालिममा सिकेका अनुभव प्रस्तुत गरे ।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सहभागीहरुलाई प्रमुख अतिथि तथा अतिथिहरुले प्रमाणपत्र वितरण गरेका छन् । कार्यक्रम सञ्चालन कार्यक्रम संयोजक दिपक कुमार यादवले गरे ।
सञ्चारकर्मी उत्पादन एवम् स्थानीय विषयवस्तुलाई सञ्चारमाध्यममा पहुँच अभिवृद्धि गराउने उद्देश्यका साथ आयोजित तालिममा विष्णुपुर गाउँपालिकाका ७ वटै वडाका गरि २० जनाको सहभागिता रहेको थियो ।