न्यूज टुडे
राजविराज, १३ असार ।
मधेस प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मुख्यमन्त्री सतिश कुमार सिंहले पदको दुरुपयोग गरि राजविराज कन्या छात्राबासलाई बजेट विनियोजन गरेको टिप्पणी गरेका छन् । न्यूज टुडेसंग शुक्रबार कुराकानी गर्दै उनले झण्डै ३ दशक अगाडि आफ्ना बुवाले छात्राबासमा लगाएको रकम असुल्नको लागि पदको दुरुपयोग गरि छात्राबासको नाउँमा बजेट विनियोजन गरेको दावी गरेका हुन् ।
पूर्व अर्थमन्त्री साहले मधेस सरकारले कन्या छात्राबास बनाउन हैन पैसा असुल्न बजेट ल्याएको दावी गरे ।
‘मुख्यमन्त्री पदको चरम दुरुपयोग गर्दै आफ्ना पिताका लागि २० बर्ष अगाडि ( प्रदेश सरकार नै थिएन) त्यति बेलाको पैसा असुल्ने प्रपन्चलाई के भन्नू हुन्छ ? प्रश्न गर्दै उनले भने,’ छात्राबास बनाउन हैन पैसा असुल्न ।’
यस्ता कुराहरू तपाईहरु देख्न हुन्न भन्दै उनले बजेट बारे भइरहेको नौटंकीलाई अध्यन गरि समाचार बनाउँदा राम्रो हुने उल्लेख गरे । उनले यो बजेट छात्राबास बनाउन हुदै नभएको जिकिर समेत गरे । विनियोजित बजेट छात्राबास निर्माणमा सदुपयोग हुनुपर्ने उनको जोड थियो। 
यसैगरी प्रदेश सभा सदस्य मनिष सुमनले छात्राबासको नाममा मधेस प्रदेश सरकारले ब्राह्मलुट गर्न खोजेको आरोप लगाएका छन् ।
‘करिव ३० बर्ष पहिले अस्तित्व मै नरहेको मधेस प्रदेश सरकारले आज आएर २०८२/०८३ को रेडबुकमा उल्लेख रहेको १ करोड ८० लाख कन्या छात्राबास निर्माण समितिलाई भुक्तान गरि दिनु पर्ने ।’ सामाजिक संजालमा ट्युट गर्दै उनले यसबारे धारणा सार्वजनिक गरेका छन् ।
यसैगरी पूर्व अर्थमन्त्री साहले मुख्यमन्त्री सिंहको बजेटप्रति देखिएको रोदनको कटाक्ष गरेका छन् ।
“अहिलेको मधेश सरकारको नेतृत्व जनमत पार्टीसँग छ – मुख्यमन्त्रीदेखि लिएर नीति निर्माणमा प्रत्यक्ष भूमिका भएको अवस्थामा पनि यदि आफ्नै मुख्यमन्त्री पार्टी आफैलाई ‘पीडित’ भन्दै हुनुहुन्छ भने त्यो अत्यन्त हास्यास्पद र राजनीतिक दिवालियापनको प्रमाण हो’ पूर्व अर्थमन्त्री साह भन्छन्,’यदि तपाईँहरूकै नेतृत्वमा अन्याय हुन्छ भने त्यो अन्याय गर्नेलाई कारबाही किन हुँदैन?
योजनाको वितरणमा भेदभाव भयो भने जिम्मेवार को?
सत्ता साँचोमा तपाईँहरूसँग छ कि छैन? ।’
‘जनमत पार्टी आफै सरकारमा बसेर सरकारविरुद्ध गुनासो गर्नु भनेको – ‘हामी असक्षम छौँ’ भन्ने सार्वजनिक घोषणा जस्तै हो’ उनले भने ।
‘तर सत्ता पनि आफूले भोग्ने, अनि दोष अरूलाई लगाउने – यस्तो राजनीतिक शैली न जनताले स्वीकार्छ, न इतिहासले माफ गर्छन्” अर्थमन्त्री साह भन्छन् । ‘यसले देखाउँछ – जनमत पार्टी न सरकार चलाउन सक्षम देखिन्छ, न सरकारबाट बाहिरिन तयार।”
सप्तरी सदरमुकाम राजविराज नगरपालिका ३ मा आजभन्दा २ दशक पहिले निर्माण छात्राबास अझै संचालनमा आएको छैन । मुख्यमन्त्री सिंहको बुवा शेखर कुमार सिंह यस छात्राबास निर्माण उपभोक्ता समितिका अध्यक्ष थिए । हाल सिंह राष्ट्रियसभा सदस्य छन् ।