बल्ल सघन शहरी तथा भवन निर्माण आयोजना राजविराजले पटक–पटक म्याद थपेर पनि काम नगरेको भन्दै एउटा निर्माण कम्पनीसित स्पष्टीकरण माग गरेको छ ।
श्री डाँफे कान्छाराम देव एण्ड सायर जेभी निर्माण कम्पनीलाई यस्तो स्पष्टीकरण सोधेको हो । राजविराज नेता चौकदेखि राममन्दिर तथा मुख्य बजारदेखि राजदेवी चोकसम्मको सडक निर्माणको काम एक साताभित्र सुरु नगरेमा ठेक्कै रद्दको निर्णय समेत भएको छ । ठेकेदार कम्पनीले राजविराजमा मात्र होईन सप्तरीका अन्य ठाउँका कतिपय निर्माण काममा समेत ब्यापक ढिलासुस्ती गरेको भन्ने जनगुनासो उठ्ने गरेको छ । तर ठेक्का लगाउने निकायले समयमा काम नगर्ने ठेकेदारमाथि कडाई गर्नुको साटो पटक–पटक म्याद थपेर उसको मनोबल बढाई दिने गरेका कारणले ढिलासुस्तीले जरो गाडदै लगेको अवस्था छ । संविधानमा सदस्य एवम् नेपाली काँग्रेसका पूजा नेता रञ्जितकुमार कर्णले यस्तो ढिलासुस्ती प्रति चासो लिएर त्यसका विरुद्ध दवाव सिर्जना गरेपछि ठेकेदार कम्पनीलाई बल्ल स्पष्टीकरण सोध्ने काम भएको छ । समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई ताकेदा गर्ने, अटेर गरे कारबाही अघि बढाउने र अन्त्यमा ठेक्कै रद्द गर्ने सम्मको अधिकार रहेका कारण सम्बन्धित निकायले स्वःस्फूर्त रुपमा कडाई गर्नुपर्ने थियो ।
नेता कर्णले सरकारी निकायमा दवाव बढाएपछि एउटा ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोध्ने काम बल्लतल्ल भएको छ । कसैले चासो लिएपछि मात्र ताप्ने अरु बेला कानमा तेल हालेर सुत्ने पाराले समयमा विकास निर्माणको काम नहुने भएका कारण यस्तो ठेलुवा परिपाटी सुधार्न आवश्यक छ ।