अनुदानमा दिने रसायनिक मल स्थानीय तह मार्फत सहकारी संस्थाहरुले वितरण गर्दै आएका छन् । कोटाका आधारमा मल दिने व्यवस्था मिलाए पनि किसानले यसका लागि घण्टौं लाईनमा उभिएर सास्ती खेप्नु परिरहेको छ ।
लाईनमा उभिँदा पनि आवश्यकता अनुसार मल नपाएका कारण खेतीका लागि अपुग हुने गरेको किसानहरको गुनासो छ । अहिले तराई–मधेशमा चैते धानका लागि मलको आवश्यकता छ । यसैगरी मकैका लागि पनि पहिलो चोटी मल हाल्ने समय भएको छ । सहकारी संस्थाले आवश्यकताको अनुपात भन्दा पनि दामासाही रुपमा प्रति घरका दरले रसायनिक मल दिने गरेका कारण ‘हात्तीको मुखमा जीरा’ झै भएको किसानहरुको दुःखेसो छ । बाली लगाएपछि समयमा मल हाल्नै पर्ने, नहाले गरेको मिहिनेत र लगानी समेत निष्फल भएर जाने हुँदा मल अभावले किसान पिरोलिएका छन् । सहकारीमा आवश्यकता अनुसार मल नपाएपछि बजारमा किन्न जाँदा अत्यधिक चर्को मुल्य लिने गरेको कारणले किसानले नै पीडित बन्नु परिरहेको अवस्था छ । रसायनिक मलको अभाव यसपल्ट मात्र रहेको होईन । विगतमा पनि किसानले मलका लागि यसरी नै सास्ती खेप्नु परेकै हो । तर पनि कमी कमजोरीबाट पाठ नसिक्दा फेरि पनि त्यसको पीडा सास्ती किसानहरुले नै भोग्नु परिरहेको छ ।
स्वदेशमा रसायनिक मलको कारखाना स्थापनाको कुरा वर्षौ अघि देखि चल्दै आएकौ भएपनि स्थापना हुन नसक्दा त्यो फगत सस्तो लोकप्रियताकै रुपमा सिमित रहेको छ । बाहिरबाट आयात गरिएको मल पनि आवश्यकता अनुसार समयमा उपलब्ध नभईरहेको अवस्थालाई मध्यनजर गरी किसानलाई यो समस्याबाट मुक्त तुल्याउने तर्फ ध्यान पु¥याउन जरुरी छ ।