पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ३ ट्राफिकमा शुक्रबार ट्याक्टर र स्कुटर एकआपसमा ठोकिंदा एक जना घाइते भएका छन् । दुर्घटनामा सप्तरीको अग्नीसाइर कृष्णासव्रन गाउँपालिका वडा नम्बर ४ टेङ्ग्रीका अन्दाजी बर्ष १९ को राजेश कुमार मण्डल घाइते भएका हुन् ।
घाइते स्कुटर चालक मण्डल । फोटो : न्यूज टुडे
पूर्वबाट पश्चिम दिशातर्फ जाँदै गरेको स १ त ३१७४ नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको को २२ प ९५०० नम्बरको स्कुटर ठोकिंदा स्कुटर चालक मण्डल घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते स्कुटर चालकलाई प्रहरीले उद्वार गरि अस्पताल पठाएको स्थानीयले बताएका छन् ।
अनुहार तथा कुहिनोमा गहिरो चोट लागेको मण्डलको रुपनी १ स्थित युनिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
घाइते मण्डलको स्वास्थ्य अवस्थामा सुधार भइरहेको तथा ट्याक्टर चालक सप्तरी महादेवा गाउँपालिका ५ का भोला साह र दुर्घटना ग्रस्त दुबै सवारी साधनलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय रुपनीका इन्चार्ज प्रहरी नायव निरीक्षक पम्वर यादवले जानकारी दिए ।
एकै दिशाबाट गइरहेको ट्याक्टरले सडक निर्माणको क्रममा भएको खाल्डो बचाउन एक्कसी ब्रेक लिएपछि स्कुटर ट्याक्टरको पछाडिको डालामा ठोकिंदा उक्त दुर्घटना भएको स्थानीयले जनाएको छ ।